काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री नियुक्त हुने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरेका छन् ।
प्रधानमन्त्री शाहले आजै सुधन गुरुङलाई गृहमन्त्री नियुक्त गर्ने तयारी गरेपछि सँगसँगै पुनलाई विज्ञान मन्त्रालयको जिम्मेवारी दिन लागेको स्रोतले बतायो । तर पुनले यसबारे आफूलाई कुनै जानकारी नआएको बताए ।
पुनको मागबमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि चार अर्ब बजेटसमेत विनियोजन गरेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पुँजीगत खर्चको १ प्रतिशत बजेट विनियोजन गरिएको बताएका थिए ।
पुन अघिल्लो सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए । उनले फागुन २१ को चुनावमा म्याग्दीबाट स्वतन्त्र रुपमा चुनाव जितेका थिए । उनलाई चुनावमा रास्वपाले समर्थन गरेको थियो । रास्वपाका सांसद भए पनि उनको संसद्मा स्वतन्त्र सांसदको हैसियत छ ।
पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका छन् । पछिल्लो समय पुनले प्रधानमन्त्री शाहले गरेका निर्णयको बचाउ गर्दै आएका छन् ।








