काठमाडौं । बिपी कोइरालाका छोरो प्रकाश कोइराला राजावादी कित्तामा पुगेर राजनीति सिध्याए । छोरी मनिषा कोइरालाले पनि त्यही बिँडो समाएकी छन् । यदि उनी कांग्रेसमै रहेर राजनीति गरेको भए अहिले कांंग्रेसको विरासत मनिषाको हातमा पुग्थ्यो । तर मनिषा हरहालतमा सम्भव नभएको राजसंस्था फर्काउने अभियानमा छिन् । त्यति मात्र होइन, राजपरिवारका सदस्यको गुनगान गरेर थाक्दिनन् ।
शनिबार हिमानी ट्रस्टले स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा राजपरिवारका सबै सदस्य उपस्थित थिए । मनिषा पनि पुगेकी थिइन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह, हिमानी, पूर्णिकादेखि सबैलाई भेटिन् । कार्यक्रमको तारिफ गरिन् ।
घर फर्केपछि मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्री ५ सरकार’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् । ‘आजको शुभारम्भ कार्यक्रममा श्री ५ सरकारसहित थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति देख्दा गर्व महसुस भयो,’ मनिषाले लेखेकी छिन्, ‘हिमानी ट्रस्टद्वारा सञ्चालन गरिएको ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने मूल नाराका साथ सुरु भएको यो अभियान स्वदेशमै उद्योग, व्यवसाय गर्न चाहने युवाहरूलाई समर्पित छ।’
मनिषाले अभियानको प्रारम्भिक चरण पूरा भएको, तर अब निरन्तर प्रयास आवश्यक रहेको बताउँदै पारस शाहकी छोरीलाई समेत सरकार भन्दै सम्बोधन गरेकी छन्। ‘मेड इन नेपाल उत्पादनहरूको प्रवर्द्धन ठुलो स्तरमा गर्नुपर्छ। यस्ता पुण्य कार्यहरू अविचल रूपमा अघि बढ्न आवश्यक छ,’ उनले लेखेकी छिन्, ‘यो सफल र प्रेरणादायी कार्यको लागि पूर्णिका सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको अथक मेहनत, समर्पण र युवापुस्तालाई उत्प्रेरित गर्ने प्रयास साँच्चै प्रशंसनीय छ।’
केही समयअघि पूर्वराजाको संवाद सचिव फणिराज पाठक ‘श्री ५ महाराजाधिराज’ लेखेबापत प्रहरी कार्यालय पुगेका थिए । उनलाई दिनभर केरकार गरेर आइन्दा नलेख्ने सर्तमा छाडिएको थियो ।







