काठमाडौं । चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवस तथा रजत जयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। चन्द्रागिरी नगरपालिका–७, थानकोटस्थित मुख्य कार्यालयमा आयोजित विशेष समारोहका बीच रजत जयन्ती वर्ष शुभारम्भ गरिएको हो।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले गरेका थिए। उनले संस्थाको २५ वर्षे यात्रालाई सदस्यहरूको विश्वास, सहयोग र संस्थागत टिमको मेहनतको परिणाम भएको बताए। उनले आगामी दिनमा प्रविधिमैत्री, गुणस्तरीय र प्रभावकारी सेवा विस्तार गर्दै सदस्यहरूको आर्थिक समृद्धिमा योगदान पुर्याउने लक्ष्य रहेको उल्लेख गरे।
कार्यक्रमको औपचारिक उद्घाटन समाजसेवी तथा शिक्षाप्रेमी सुरेन्द्र बहादुर खड्काले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार परिषद्का अध्यक्ष योगेन्द्र कुमार कुँवरले संस्थाको २५ वर्षे यात्रा, चुनौती र उपलब्धिबारे जानकारी गराएका थिए।

त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालले संस्थागत मूल्य र अनुशासनमा आधारित कार्य गर्न आग्रह गरे। संस्थापक अध्यक्ष रुद्र प्रसाद शर्माले संस्थाको स्थापनाको उद्देश्य हालका गतिविधिसँग मेल खाइरहेको बताए। संस्थापक तथा सल्लाहकार परिषद्का सदस्य प्रा. डा. राम शरण पाठकले संस्थाको विगत स्मरण गर्दै थप सतर्कतासहित अघि बढ्न सुझाव दिए।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले संस्थाका २५ प्रतिबद्धता सार्वजनिक गरेका छन्। ती प्रतिबद्धतामा सदस्यको विश्वास कायम राख्ने, महिला तथा युवा सशक्तिकरण, डिजिटल सेवा विस्तार, पारदर्शिता, सामाजिक उत्तरदायित्व र संस्थागत दिगोपनालाई प्राथमिकता दिइएको छ।
यस अवसरमा रजत जयन्तीको लोगो र नारा सार्वजनिक गरिएको थियो। उत्कृष्ट लोगो र नाराका लागि वीर बहादुर तामाङ र विष्णु प्रसाद पौडेललाई सम्मान गरिएको थियो।
रजत जयन्ती वर्षभर “विश्वासको सहयात्रा” र उद्यमशीलता प्रवर्द्धनका लागि सहकारी मेला लगायतका कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ।
कार्यक्रमको पूर्वसन्ध्यामा मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा दीप प्रज्वलन गरिएको थियो। साथै, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा चन्द्रागिरी साकोस र लायन्स क्लब अफ चन्द्रागिरीको संयुक्त आयोजनामा “रक्तदान महादान” कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा १०३ जना रक्तदाताले रक्तदान गरेका थिए।
संस्थाले सम्पूर्ण सदस्य, कर्मचारी, सहयोगी संस्था तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ सदस्यकेन्द्रित, प्रविधिमैत्री र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।









