काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा उच्चस्तरीय भेटघाटमा व्यस्त रहेका छन्।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय सरकार तथा सत्तारुढ दलका शीर्ष नेतासँग भेटवार्ता गरेका छन्।
मंगलबार उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। भेटमा भारतीय विदेश सचिव विक्रम मिस्री पनि सहभागी थिए। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, विकास साझेदारी तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।
त्यसैगरी लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा भेटवार्ता गरेका छन्। भेटमा दुवै पार्टीबीचको सम्बन्ध, संगठन निर्माण, सदस्यता विस्तार, उम्मेदवार छनोट प्रक्रिया तथा लोकतान्त्रिक अभ्यासका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।
भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयाम, राजनीतिक सहकार्य, युवा पुस्ताको राजनीतिमा बढ्दो सहभागिता तथा भावी नेतृत्व विकासका सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ।
लामिछानेसँगै भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपकराज बोहरा, नीतिका पौडेल तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।
भ्रमणका क्रममा टोलीले भारतीय जनता पार्टीको मुख्यालयस्थित सञ्चार केन्द्र र केन्द्रीय पुस्तकालयको अवलोकनसमेत गरेको छ।
आज मोदीसँग भेटवार्ता
रास्वपाले दिएको जानकारीअनुसार सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै भारतस्थित प्रवासी नेपाली समुदायसँग अन्तरक्रिया गर्ने तथा अयोध्या भ्रमण गर्ने कार्यतालिका पनि तय गरिएको छ।
भारत भ्रमण सम्पन्न गरी लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।








