काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले पुनः माइतीघरमा आमरण अनसन बस्ने घोषणा गरेका छन् । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले आफ्ना माग पूरा नभएसम्म अनसन बस्ने घोषणा गरेका हुन् । त्यसका लागि वातावरण मिलाइदिन उनले सरकारसँग आग्रह गरेका छन् ।
बाँदरलगायत अन्य वन्यजन्तुबाट कृषि तथा खाद्यान्न उत्पादनमा पुर्याएको क्षति, विश्वव्यापी जलवायु परिवर्तन, पर्यावरणीय संकट तथा बाँस, गाँजा लगायतका वनस्पतीको बिल्डिङ कोड र नर्म्स तयार गर्दै स्थानीय श्रोत(साधनको समुचित उपयोगसँग सम्बन्धित सात बुँदे मागसहित उनी साउन ९ देखि भोक हडतालमा बसेका थिए ।
सरकारले कुनै चासो नदेखाएपछि साउन १४ गतेदेखि आमरण अनसन थालेका थिए । सोही राति उनलाई प्रहरीले उठाएर वीर अस्पताल भर्ना गरेको थियो । अस्पतालबाटै उनले पत्रकार सम्मेलन गरी पुनः माइतीघरमा अनसन बस्ने घोषणा गरेका हुन् ।
यस अवधिमा सरकारसँग भएका वार्ता विना निष्कर्ष टुंगिएको उल्लेख गर्दै उनले बॉस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून निर्माण गरी कार्यान्वयन गर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्द्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानून बनाउनुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर, उद्योग लगायतलाई कडाईका साथ रोकी कडा कानून बनाई कारबाही गरिनुपर्ने, पहिलो चरणमा वन र उद्योग मन्त्रालय र माताहतका सबै निकायले फर्निचर खरिद गर्दा बॉस, काठ, राडी पाखी, वातावरण र पर्यावरण मैत्री फर्निचर र भवन संरचना बनाउन नीतिगत निर्णय गरि खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्नेलगायतका माग पूरा गर्नुपर्ने अडान राखेका छन् ।





