वासिङ्टन । ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा मारिएका छन् । घटनाका क्रममा एक दर्शक पनि गोली लागेर घाइते भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प घटनाको समयमा ह्वाइट हाउसभित्रै रहे पनि उनी सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् ।

ADVERTISEMENT

युएस सेक्रेट सर्भिसका सञ्चार प्रमुख एन्थोनी गुग्लिल्मीका अनुसार साँझ ६ बजेपछि ह्वाइट हाउसको सुरक्षा घेरानजिक एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेपछि सुरक्षाकर्मीहरूले तत्काल जवाफी कारबाही गरेका थिए ।

ADVERTISEMENT

सेक्रेट सर्भिसका प्रहरी अधिकारीहरूले संदिग्धमाथि गोली चलाएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
गोली हानाहानका क्रममा घटनास्थलमा रहेका एक दर्शकलाई पनि गोली लागेको थियो, तर उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

अमेरिकी सञ्चारमाध्यमहरूले मारिएका संदिग्धलाई मेरिल्यान्डका २१ वर्षीय नासिरे बेस्टका रूपमा पहिचान गरेका छन् । रिपोर्टहरूका अनुसार बेस्टको मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको इतिहास थियो र यसअघि पनि उनको सेक्रेट सर्भिस सदस्यहरूसँग पटक–पटक सम्पर्क भएको थियो ।

ADVERTISEMENT

घटनामा कुनै पनि सेक्रेट सर्भिस अधिकारी घाइते नभएको जनाइएको छ । गोलीकाण्डपछि प्रहरी र सुरक्षा बलहरूले ह्वाइट हाउस वरपरको क्षेत्रलाई तत्काल घेरा हालेर नियन्त्रणमा लिएका थिए । नेसनल गार्डका सैनिकहरूले वासिङ्टनको डाउनटाउन क्षेत्रमा आवतजावतमा समेत कडाइ गरेका थिए ।

घटनास्थल नजिक रहेका क्यानाडाली पर्यटक रिड एड्रियनले आफूहरूले सुरुमा आतशबाजी पड्किएको जस्तो आवाज सुने पनि केही क्षणमै ती आवाज गोलीका भएको बुझिएको बताए । उनका अनुसार त्यसपछि वरपर रहेका मानिसहरू भागाभाग गर्न थालेका थिए ।

त्यस समयमा ह्वाइट हाउसको नर्थ लन क्षेत्रमा रहेका पत्रकारहरूलाई तत्काल प्रेस ब्रिफिङ कक्षमा गएर आश्रय लिन निर्देशन दिइएको थियो । एबिसी न्युजकी संवाददाता सेलिना वाङ सामाजिक सञ्जालका लागि भिडियो रेकर्ड गरिरहेकै बेला गोली चलेको थियो र उहाँले उक्त घटनाको आवाज आफ्नो भिडियोमा कैद गरेका थिए ।