काठमाडौं। नेकपा एमालेकि नेत्री अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्व, पुस्तान्तरण र संगठनात्मक पुनर्जागरणको विषय उठाउँदै सामाजिक सञ्जालमार्फत् भावनात्मक तथा राजनीतिक सन्देश सार्वजनिक गरेकी छन्। उनले एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै पार्टीभित्र सामूहिक नेतृत्व र नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा व्यक्त गरेकी हुन्।
शाक्यले एमाले गौरवपूर्ण इतिहास बोकेको पार्टी भए पनि पछिल्लो निर्वाचनपछि कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै अब पार्टीलाई पुनर्जीवित गर्न आत्मसमीक्षा आवश्यक रहेको बताएकी छन्। उनले नेतृत्वमा देखिएको “दम्भ, घमण्ड र गुटगत सोच” ले पार्टी कमजोर बनेको टिप्पणी गरेकी छन्।

उनको भनाइमा एमाले लाखौँ कार्यकर्ताको त्याग, बलिदान र संघर्षबाट बनेको पार्टी भएकाले यसलाई कुनै व्यक्ति वा समूहको स्वामित्वजस्तो व्यवहार गर्न नहुने उल्लेख छ। उनले वर्तमान समयको आवश्यकता विचार, सामूहिकता, संघर्ष र इमानदारीमा आधारित नेतृत्व भएको बताउँदै अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छन्।
उनले ओली प्रति कडा टिप्पणी गर्दै “एमाले तपाईंको गुटको कम्पनी होइन । एमाले कुनै व्यक्तिको पेवा पनि होइन ।” भनेर उधृत गरेकी छिन।त्यस्तै, उनले अध्यक्ष ओलीलाई सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिएर पार्टी पुनर्गठन प्रक्रियामा सहयोग गर्न आग्रहसमेत गरेकी छन्। “कमरेडले यही बैठकबाट सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिनु राम्रो हुन्छ ।”

ADVERTISEMENT

शाक्यको यो अभिव्यक्तिलाई एमालेभित्र बढ्दो नेतृत्व बहस, पुस्तान्तरणको माग र निर्वाचनपछिको आन्तरिक समीक्षा प्रक्रियासँग जोडेर हेरिएको छ। पछिल्लो समय पार्टीभित्र नेतृत्व शैली, संगठन सञ्चालन र भावी दिशा सम्बन्धी छलफल तीव्र भइरहेका बेला उनको धारणा अर्थपूर्ण रूपमा आएको राजनीतिक वृत्तमा चर्चा छ।

विश्लेषकहरूका अनुसार वरिष्ठ नेतृ शाक्यको यो सार्वजनिक अभिव्यक्तिले एमालेभित्र वैचारिक बहस र नेतृत्व पुनर्संरचनाको विषयलाई थप केन्द्रमा ल्याएको छ।

ADVERTISEMENT