काठमाडौं । ‘कक्रोच जनता पार्टी’ का संस्थापक अभिजित दिपकेलाई ज्यान मार्ने धम्की दिइएको छ । भारतीय जनता पार्टीका एक समर्थकले अभिजितलाई आफ्नो पार्टीको एकाउन्ट बन्द गर्न नभए अमेरिकामै ज्यान मार्ने धम्की दिएका हुन् ।

अभिजितले आफूलाई ज्यान मार्ने धम्कीको म्यासेज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

‘सुन पैसा मिलेगा तुझे ए एकाउन्ट बन्द कर्दे, बरना बिजेपीमे आ । बरना अमेरिकामे भी मरवा देंगे तुझे’ लेख्दै एक व्यक्तिले अभिजितलाई ज्यान धम्की दिएका हुन् ।

ADVERTISEMENT

वर्तमान भारतीय सत्ताले थुपारेका विकृतिलाई व्यंग्य गर्दै एक साताअघि अभिजितले ‘कक्रोच जनता पार्टी’ स्थापना गरेका थिए । जुन पार्टीको विषयले अहिले इन्टरनेटमा सनसनी मच्चाएको छ ।

ADVERTISEMENT

‘कक्रोच जनता पार्टी’ को अहिलेसम्म इन्स्टाग्राममा एक करोड ७० लाखभन्दा बढी फलोअर्स पुगेका छन् । झन्डै दुई लाख फलोअर्स पुगेपछि भारतमा ‘कक्रोच जनता पार्टी’ को एक्स (ट्विटर) ह्यान्डल बन्द गरिएको छ ।

ADVERTISEMENT

खासगरी वर्तमान बिजेपी नेतृत्वको सरकार ‘कक्रोच जनता पार्टी’ को सुनामीका कारण चिन्तित बनेको देखिएको छ । सोही कारण ‘कक्रोच जनता पार्टी’ को चर्चा र लोकप्रियतालाई दबाउन भारतीय सत्ता पक्ष लागेको छ ।

गत १५ मेमा भारतका प्रधानन्यायाधीश सूर्य कान्तले नक्कली कानुन डिग्रीसम्बन्धी अदालतको सुनुवाइको क्रममा पत्रकारिता र आरटीआई अभियानमा संलग्न बेरोजगार युवाहरूलाई कक्रोच जस्तो अल्छी भनेर टिप्पणी गरेका थिए । उनको त्यही टिप्पणीलाई अभिजित दिपकेले सामाजिक सञ्जालमा ‘सबै कक्रोच मिले भने के हुन्छ ?’ भन्दै जवाफ दिएका थिए । यही स्टाटसले भारतीय सत्ता हल्लेको हो ।

तीन लाख ५० हजारभन्दा बढी मानिसहरूले गुगल फारममार्फत सदस्यता लिइसकेका छन् । अभिजितको अभियानमा विपक्षी सांसदहरू महुआ मोइत्रा र कीर्ति आजाद पनि समावेश छन् ।