काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत काठमाडौंमा जारी सिरिजको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ः३० बजे त्रिवि क्रिकेट मैदान मा सुरु हुनेछ ।
स्कटल्यान्डसमेत सहभागी सिरिजका हालसम्म भएका ६ खेलमध्ये नेपालले दुई खेल जितेको छ भने अमेरिकाले एक खेलमा जित निकालेको छ । स्कटल्यान्डले भने दुई खेल जित्दै बलियो प्रदर्शन गरेको छ ।
सिरिजको सुरुवाती खेलमा नेपाल र अमेरिका दुवैले स्कटल्यान्डसँग हार बेहोरेका थिए । त्यसपछि नेपालले दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो । यता अमेरिकाले सिरिजको पाँचौँ खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।
हाल लिग–२ को अंकतालिकामा अमेरिका २७ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २२ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । स्कटल्यान्ड पनि ३८ अंकमै रहे पनि रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।
आजको खेलमा नेपाल विजयी भए अंकतालिकामा आफ्नो अवस्था थप मजबुत बनाउनेछ । अमेरिकाका लागि भने हारले शीर्ष स्थान गुमाउने जोखिम रहनेछ ।








