काठमाडौं । भारतमा कक्रोच जनता पार्टीको उधूम मच्चाएको छ । खुलेको पाँच दिनमै भारतमा अप्रत्यासित रुपमा फैलिएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा भाजपालाई पछि पारेको छ ।

भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ ले हल्लाखल्ला मच्चाएको छ ।

ADVERTISEMENT

‘कक्रोच जनता पार्टी’को इन्स्टाग्राम ह्यान्डलमा अचानक फलोअर्सको बाढी आएको छ। चार दिनभित्र इन्स्टाग्रामका फलोअर्स संख्या एक करोड २८ लाखभन्दा बढी पुगेको छ। बिहीबार बिहान ६ बजेसम्ममा यो संख्या इन्स्टाग्राममा ९० लाखभन्दा बढी र ट्विटरमा लगभग १६ लाख पुगेको थियो। भाजपाको इन्स्टाग्राममा ८७ लाख फलोअर्स छन् भने कांग्रेसको एक करोड ३२ लाख फलोअर्स छन्।

इन्टरनेटमा यसको नाममा वेबसाइटसमेत बनिसकेको छ भने एक्समा पनि यसका उल्लेख्य फलोअर्स छन्। दाबीअनुसार दुई लाखभन्दा बढी मानिसले वेबसाइटमार्फत सदस्यताका लागि आफ्नो नाम दर्ता गराएका छन्। ‘कक्रोच जनता पार्टी’को वेबसाइटमा यसको संस्थापक तथा संयोजकको नाम अभिजित दीपके उल्लेख गरिएको छ।

ADVERTISEMENT

यसको नारा ‘धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी’ हो। मे १५ मा प्रधानन्यायाधीश सूर्यकान्तले मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवाहरूलाई कक्रोचसँग तुलना गरेका थिए।

पार्टी सदस्यताको लागि बेरोजगारी, अल्छी, अनलाइन हुने लत र व्यावसायिक रूपमा रिस पोख्ने क्षमता योग्यता मानिएको छ । यदि कक्रोच जनता पार्टी सत्तामा आयो भने कुनै पनि प्रधानन्यायाधीशले अवकाशपछि राज्यसभा जाने पुरस्कार पाउने छैनन्। यदि कुनै वैध मत हटाइयो भने प्रमुख निर्वाचन आयुक्तलाई पक्राउ गरिनेछ । कसैको मतदान गर्ने अधिकार खोस्नु आतंकवादभन्दा कम नभएको कक्रोच जनता पार्टीको ठहर छ ।

महिलाका लागि ३३ होइन ५० प्रतिशत आरक्षण हुनेछ। यस उद्देश्यका लागि सांसदहरूको संख्या बढाइने छैन। मन्त्रिपरिषद्मा पनि महिलाका लागि ५० प्रतिशत आरक्षण हुनेछ। स्वतन्त्र मिडियालाई ठाउँ दिन अम्बानी र अडानीको स्वामित्वमा रहेका सबै मिडिया संस्थाहरूको इजाजतपत्र रद्द गरिनेछ।