बाजुरा । हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चारजनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका बासिन्दाले आक्रमण गरेका थिए । सो आक्रमणबाट ६ जना घाइते भएका थिए ।
आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङ तथा प्रहरी चौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।
घाइते भएकामध्ये चारजनालाई हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उनका अनुसार गाउँपालिकाले नै खर्च व्यहोर्ने गरी निजी कम्पनीको हेलिकप्टरमार्फत घाइतेको उद्धार गरिएको हो ।
आक्रमणमा परी घाइते भएका वडा सदस्य पेमा गारा गुरुङ, उहाँकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । यसअघि जेठ ३ गते पनि दुवै पक्षबीच विवाद भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।
प्रहरी चौकी निर्माणका लागि गुम्बा गाउँका नरबहादुर गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो। तर, खार्पुनाथ गाउँपालिकाका स्थानीयले उक्त क्षेत्र हुम्लाको भूमि भएको दाबी गर्दै निर्माण कार्य रोक्न खोजेका थिए।
स्थानीयका अनुसार उनीहरूले निर्माण सामग्री फाल्नुका साथै जग्गा उपलब्ध गराउने वडासदस्य पेमा गुरुङको परिवारमाथि समेत आक्रमण गरेका थिए। लक्षी गुरुङले आफ्नो घर तीन दिनदेखि कब्जामा राखिएको र परिवारलाई धम्की दिइएको बताएकी छन्।
गुम्बा गाउँका स्थानीय छिरिङ फुटी थापाका अनुसार निर्माण कार्यमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएर केही दिनसम्म रोकिएको थियो। स्थानीयले आफूहरूको पुर्खौँदेखिको बसोबास रहेको र जग्गाको लालपुर्जासमेत रहेको बताएका छन्।
साइपालको पूर्वी आधार शिविर रानीसैन तथा लाम्पाटा क्षेत्रको सीमाविवादलाई लिएर बाजुरा र हुम्लाबिच लामो समयदेखि विवाद रहँदै आएको छ।








