काठमाडौँ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल का इन्फ्लुएन्सर, भ्लगर र डिजिटल कन्टेन्ट क्रिएटरलाई नेपाल भ्रमण गराउने योजना सार्वजनिक गरेको छ। दूतावासले ‘फेमिलियराइजेशन ट्रिप’ कार्यक्रमअन्तर्गत पाँच जना भारतीय कन्टेन्ट क्रिएटर छनोट गरी नेपाल भ्रमण गराउने सूचना जारी गरेको हो।

दूतावासका अनुसार उक्त कार्यक्रमको उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक तथा आध्यात्मिक स्थल, नेपाली आतिथ्यता र विविध पर्यटन सम्भावनालाई भारतीय बजारमा डिजिटल माध्यमबाट प्रवर्द्धन गर्नु हो। नेपाल भ्रमणपछि सहभागीहरूले भिडियो, भ्लग, रील्स, पोडकास्ट र सामाजिक सञ्जाल सामग्रीमार्फत नेपालबारे प्रचार गर्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

सूचनामा नेपाललाई भारतीय पर्यटकका लागि “नजिक, सहज र आत्मीय गन्तव्य” का रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको उल्लेख छ। हिमाल, ताल, सम्पदास्थल, मन्दिर, गुम्बा, पर्व, स्थानीय संस्कृति, खानपान तथा आध्यात्मिक पर्यटनलाई विशेष रूपमा प्रवर्द्धन गरिने जनाइएको छ।

दूतावासले योग, ध्यान, वेलनेस, साहसिक पर्यटन, पारिवारिक यात्रा, धार्मिक भ्रमण तथा सांस्कृतिक अनुभवलाई समेत भारतीय पर्यटक आकर्षित गर्ने प्रमुख क्षेत्रका रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ। पछिल्लो समय भारतीय पर्यटक नेपाल आउने क्रम बढिरहेको अवस्थामा डिजिटल माध्यममार्फत पर्यटन बजार विस्तार गर्ने रणनीति अपनाइएको विश्लेषण गरिएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरू भारतीय नागरिक वा भारतमा आधारित डिजिटल कन्टेन्ट क्रिएटर हुनुपर्नेछ। युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्सलगायत प्लेटफर्ममा सक्रिय उपस्थिति भएको तथा यात्रा, संस्कृति, जीवनशैली, अध्यात्म, खानपान, पर्यटन वा साहसिक गतिविधिसम्बन्धी सामग्री निर्माण गर्ने व्यक्तिलाई प्राथमिकता दिइने दूतावासले जनाएको छ।

सहभागीहरूले नेपाल भ्रमणपछि उच्च गुणस्तरका भिडियो, पोस्ट, स्टोरी, रील्स वा पोडकास्ट सामग्री तयार गरी सार्वजनिक गर्नुपर्नेछ। साथै नेपाल भ्रमणसम्बन्धी व्यवहारिक जानकारी र अनुभवसमेत आफ्ना दर्शकमाझ साझा गर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन बजारमा डिजिटल मार्केटिङलाई प्राथमिकता दिँदै आएको छ। विशेषगरी भारतीय पर्यटक नेपाल पर्यटनको महत्वपूर्ण आधार मानिने भएकाले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रचार प्रभावकारी हुने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायीहरूले पनि यस्तो अभियानले नेपालका धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यको अन्तर्राष्ट्रिय पहुँच बढाउन सहयोग पुग्ने बताएका छन्।