काठमाडौं । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

बिहीबार जारी संयुक्त विज्ञप्तिमा चार संस्थाले पाण्डेको पक्राउप्रति चिन्ता व्यक्त गर्दै यसले बैंकिङ क्षेत्रको संस्थागत स्थायित्व र साखमा नकारात्मक असर पार्न सक्ने बताएका हुन्।

ADVERTISEMENT

विज्ञप्तिमा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरू नेपाल राष्ट्र बैंक बाट जारी नीति निर्देशन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत सञ्चालन भइरहेको उल्लेख गरिएको छ। ती संस्थाहरूले सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ।

संयुक्त वक्तव्यमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ५७ अनुसार कर्जा असुल नभएको अवस्थामा बैंक तथा वित्तीय संस्थालाई असुलीका लागि विशेष अधिकार प्रदान गरिएको स्मरण गराइएको छ। उक्त प्रावधान बैंकको नियमित प्रक्रिया अन्तर्गत पर्ने र यसको कार्यान्वयन प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीभित्र पर्ने चारै संस्थाको भनाइ छ।

‘आम सर्वसाधारणको निक्षेपमा आधारित बैंक जस्ता संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई कर्जा असुलीको विषयमा पक्राउ गर्दा बैंकको साखमा गिरावट आउनुका साथै संस्थागत स्थायित्वमै असर पर्न सक्छ,’ विज्ञप्तिमा उल्लेख छ।

संगठनहरूले बैंकको प्रतिष्ठा तथा प्रमुख कार्यकारी अधिकृत पदको गरिमालाई समेत ध्यानमा राख्दै आवश्यक अनुसन्धान गर्नुपर्ने भए ‘सुन अनि थुन’ को सिद्धान्तअनुसार प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

उनीहरूले ज्योतिप्रकाश पाण्डेलाई यथाशीघ्र थुनामुक्त गरी अनुसन्धान प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग अपिल गरेका छन्।