काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ । इन्धनलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोध गर्दै निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरूले बिहीबार सडक विभाग र जलस्रोत तथा सिँचाइ विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएका छन् । मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजना बन्द हुने अवस्थामा पुग्दासमेत सरकारले चासो नदिएको भन्दै उनीहरू धर्नामा बसेका हुन् । सरकारले भने तत्काल इन्धनकाे भाउ घटाउन नसक्ने धारणा सार्वजनिक गरिसकेकाे छ ।
त्यसअघि उनीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डा. सन्तोष कैनीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।
महासंघका महासचिव शिवहरि घिमिरेले सरकारले माग सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताए । मूल्यवृद्धिका कारण निर्माण व्यवसायी चरम संकटमा परेको उनको भनाइ छ । बढेको बजार भाउअनुसार ठेक्काको मूल्य पनि समायोजन गर्नुपर्नेमा उनले जोड दिए । घिमिरेका अनुसार महासंघले ७७ वटै जिल्लाका सीडीओलाई ज्ञापनपत्र बुझाउनेलगायत आन्दोलनका कार्यक्रम तय गरिसकेको छ ।
आन्दोलनकै बीचमा व्यवसायीमाथि भइरहेको धरपक्कडप्रति पनि घिमिरेले आपत्ति जनाए । अनुसन्धानका नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने उनको भनाइ छ । सिआइबीले कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी तीन दिनअघि सिआइबीले शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मालाईै अफिसबाटै उठाएर मन्त्रालय लगेको थियो । सरकारले पहिले थुन्ने र पछि सुन्ने नीति अख्तियार गरेको छ ।










