काठमाडौं । सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेपछि सांसद महावीर पुन खुसी भएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई धन्यवाद दिँदै आफूले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको उल्लेख गरेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि झिकेर ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ स्थापना गर्ने निर्णय गरेको हो । नेपालमा नवप्रवर्तन र विज्ञानलाई महत्व दिनुपर्ने भन्दै वैज्ञानिक पुनले माग राख्दै आएका थिए । उनको मागको सुनुवाइ बालेन सरकारले गरेको हो ।
तीन दिनअघि मात्र पुनले संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममा विज्ञान र नवप्रवर्तन शब्द नपरेकोमा खेद प्रकट गर्दै आपत्ति जनाएका थिए । उनले सामाजिक सञ्जालमार्फत रास्वपा नेता र सरकारलाई श्राप पनि दिएका थिए । तर बिहीबार बिहान सांसद पुनले प्रधानमन्त्री बालेन्द्रलाई धन्यवाद दिँदै आफूले दिएको श्राप पनि फिर्ताको घोषणा गरेका छन् ।
‘मैले लामो समयदेखि गरेको माग पूरा भयो। दुई दिन अगाडि मैले संसदमा राखेको मागको भिडियो देख्नु नै भयो होला। त्यो भन्दा तीन हप्ता अगाडि मैले प्रधानमन्त्रीज्यूलाई बुझाएको लिखित माग पनि हेर्नु होला। अव सो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई दक्षताका साथ कसरी चलाउने भन्ने आइडिया भएका जान्ने सुन्ने देशभक्त बैज्ञानिकहरु र अनुसन्धानकर्ताहरु छलफल गर्न आउनुहोस् भन्ने अनुरोध गर्दछु । नेपाल सरकारलाई धेरै धेरै धन्यवाद । मैले रिसको झोंकमा नेताहरुलाई दिएको श्राप पनि फिर्ता गर्दछु,’ पुनले भनेका छन् ।
एउटा आवाजले बहस जन्माउँछ, बहसले चेतना जगाउँछ, अनि चेतनाले राज्यलाई निर्णय लिन बाध्य बनाउँछ भन्ने कुराको पुष्टि भएको छ ।





