काठमाडौं । बागमती प्रदेश सरकारमा देखिएको किचलोलाई लिएर प्रधानमन्त्री केपी ओलीले चासो राखेका छन् । कांग्रेस संसदीय दलको नेतामा पराजित भए पनि मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गर्न खोजेपछि एमालेले असन्तुष्टि जनाएको छ ।

मुख्यमन्त्री लामाले बुधबार नै कांग्रेसका तीन मन्त्री नियुक्त गरेका थिए । तर एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले फोन गरेर सपथ रोक्न भनेपछि रोकिएको थियो ।

बिहीबार दिउँसेका लागि तय मन्त्रीहरुको सपथ प्रदेश प्रमुख दीपकप्रकाश देवकोटा उपचार गराउन भन्दै काठमाडौं हिँडेपछि रोकिएको छ । अस्वस्थ भई काठमाडौं पुगेका प्रदेश प्रमुख देवकोटाले प्रधानमन्त्री ओलीलाई भेटेर वस्तुस्थितिबारे जानकारी गराएको स्रोतले जनाएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश प्रमुख देवकोटा, एमाले बागमती प्रदेश इन्चार्ज कैलाश ढुंगेल, राजन भट्टराई, जगन्नाथ थपलियाले बागमती प्रदेशको हालसम्मको अवस्था र अबका दिनमा चाल्ने कदमबारे ओलीलाई जानकारी गराएका थिए । एमाले नेता राजन भट्टराईले बागमती प्रदेश सरकारमा देखिएको वस्तुस्थितिबारे प्रधानमन्त्री ओलीसँग छलफल गरेको बताए ।

एमालेले कांग्रेसको संस्थागत निर्णयलाई मान्ने औपचारिक निर्णय गरिसकेको छ । त्यसकारण मुख्यमन्त्री लामाले गरेका निर्णयमा साथ नदिने एमालेको प्रस्ट अडान देखिएको छ । प्रधानमन्त्री ओलीलाई भेटेर प्रदेश प्रमुख देवकोटा स्वास्थ्य चेकजाँच गर्न अस्पताल लागेको बालुवाटार स्रोतले जानकारी दियो ।