काठमाडौं, २९ वैशाख । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि औपचारिक छलफल प्रारम्भ हुन लागेको हो।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याउने नीति तथा प्राथमिकतामाथि सांसदहरूबीच व्यापक बहस हुने अपेक्षा गरिएको छ।
चालु संसद अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पनि प्रस्तुत गरिनेछ। बजेटमार्फत सरकारको आर्थिक नीति, विकास योजना तथा प्राथमिकताका क्षेत्र सार्वजनिक गरिने भएकाले यस अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।
संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलपछि सांसदहरूले उठाएका प्रश्न तथा सुझावको जवाफ प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम रहेको छ।






