काठमाडौं । ठेकेदार रमेश शर्मा पक्राउ परेका छन् । उनी शर्मा एन्ड कम्पनीका अध्यक्ष हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई साेमबार पक्राउ गरेको हो। पक्राउ गरी उनलाई सहरी विकास मन्त्रालयमा बुझाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
सहरी विकास मन्त्रालयको अनुरोधमा उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए । उनले भने, ‘सरकारी ठेक्का समयमा निर्माण सम्पन्न नगरेको र अनावश्यक रुपमा योजना ओगटेको आरोप लागेको छ, त्यस विषयमा थप अनुसन्धान हुनेछ ।’
पटकपटक ताकेता गर्दा पनि शर्माको कम्पनीले सरकारी ठेक्काको काम नसकेपछि पक्राउ गरेर कारबाही थालिएको मन्त्रालयले जनाएको छ।
यस्तै, लामा कन्सट्रक्सनका पिताम्बर बडू पनि पक्राउ परेका छन् । लामा कन्सट्रक्सन कांग्रेस नेता जिपछिरिङ लामाको निर्माण कम्पनी हो । लामा कन्सट्रक्सन र शर्मा एन्ड कम्पनीले मिलेर थुप्रै सरकारी योजना ठेक्का लिएका छन् । जसमध्ये केहीको काम अलपत्र परेको छ ।






