काठमाडौँ। पश्चिम बंगलमा विधानसभा निर्वाचनको परिणामपछि राजनीतिक तनाव चर्किएको छ। सत्तारूढ भारतीय जनता पार्टीले चुनावमा विजय दाबी गरेपछि राज्यभर हिंसा, प्रदर्शन र राजनीतिक आरोप–प्रत्यारोप बढेको हो।

निर्वाचन परिणाम सार्वजनिक भएपछि विपक्षी त्रिणमूल कांग्रेसले मतदान प्रक्रियामा अनियमितता भएको आरोप लगाएको छ। पार्टी नेतृ ममता बेनेर्जीले चुनाव “लुटिएको” दाबी गर्दै आफू पराजित नभएको बताएकी छन्। उनले पद नछाड्ने संकेत दिएपछि राज्यको राजनीतिक अवस्था थप जटिल बनेको छ।

ADVERTISEMENT

यसबीच, बुधबार राति भाजपा नेता सुबेन्दु अधिकारीका निकट सहयोगी चन्द्रनाथ रथमाथि गोली प्रहार भएको थियो। मोटरसाइकलमा आएका आक्रमणकारीले कोलकातानजिकै उनको कारमाथि हमला गरेका थिए। अस्पताल पुर्‍याइएपछि उनलाई मृत घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अधिकारीले घटनालाई योजनाबद्ध राजनीतिक हत्या भएको दाबी गरेका छन्। उनले आफूले ममता बनर्जीलाई पराजित गरेकै कारण आफ्ना सहयोगीलाई निशाना बनाइएको आरोप लगाएका छन्। यद्यपि टीएमसीले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै स्वतन्त्र अनुसन्धानको माग गरेको छ।

ADVERTISEMENT

निर्वाचनपछिको हिंसामा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ। राज्य प्रहरीले २०० भन्दा बढी मुद्दा दर्ता गरेको र ४ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएको छ। विभिन्न स्थानमा पार्टी कार्यालयमा आगजनी, तोडफोड र बुलडोजर प्रयोग गरी संरचना भत्काइएको घटनासमेत सार्वजनिक भएका छन्।

निर्वाचनअघि मतदाता नामावली पुनरावलोकन प्रक्रियालाई लिएर पनि विवाद भएको थियो। विपक्षी दलहरूले लाखौँ अल्पसंख्यक तथा मुस्लिम मतदातालाई मतदान अधिकारबाट वञ्चित गरिएको आरोप लगाएका छन्। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै भारतीय निर्वाचन आयोगले मतदान अवधिभर ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरेको थियो, जुन अझ केही समय कायम रहने बताइएको छ।

भारतीय जनता पार्टी को जितलाई भारतको पूर्वी क्षेत्रमा पार्टीको ठूलो राजनीतिक सफलताका रूपमा हेरिएको छ। तर ममता बेनेर्जीले परिणाम अस्वीकार गर्दै सर्वोच्च अदालत जाने तयारी गरेपछि संवैधानिक विवाद गहिरिने सम्भावना बढेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार राज्यपालले बिहीबार राति वर्तमान सरकार विघटनको प्रक्रिया अघि बढाएका छन् भने नयाँ सरकार शनिबारसम्म शपथ लिने तयारी भइरहेको छ।