काठमाडौं – उद्घाटन भएको करिब तीन वर्षपछि भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म कार्गो रेल सेवाको औपचारिक शुभारम्भ गरिएको छ।

मंगलबार कोलकाताबाट कच्चा पदार्थ बोकेर आएको कार्गो रेल विराटनगर पुगेपछि नेपाल र भारतका अधिकारीहरूले संयुक्त रूपमा सेवा सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन्।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले २०८० साल जेठ १८ गते यो सेवाको उद्घाटन गरेका भए पनि हालसम्म नियमित सञ्चालन हुन सकेको थिएन।

ADVERTISEMENT

मोरङको नेमुवास्थित स्वस्तिक आयल इन्डस्ट्रिज ले मगाएको तोरी बोकेका ४० वटा कन्टेनरसहितको मालवाहक रेल नेपाल कस्टम यार्ड पुगेपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी उत्साहित बनेका छन्।

ADVERTISEMENT

उद्योगीहरूका अनुसार कार्गो रेल सञ्चालनसँगै ढुवानी लागत २५ देखि ३० प्रतिशतसम्म घट्ने, कोलकाता बन्दरगाहबाट विराटनगरसम्म सामान २४ घण्टाभित्र आइपुग्ने तथा बाटोमा हुने चोरीको जोखिम कम हुने भएकाले औद्योगिक प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

भारत सरकारअन्तर्गतको कन्टेनर कर्पोरेशन अफ इन्डिया लिमिटेड (कन्कोर) का प्रतिनिधि सञ्जीव साह ले प्रारम्भमा हप्तामा दुई दिन कोलकातादेखि विराटनगरसम्म कार्गो रेल सञ्चालन हुने र आवश्यकताअनुसार सेवा विस्तार गरिने जानकारी दिएका छन्।

पारवहन सन्धिको प्रोटोकल संशोधनपछि विराटनगर आईसीपीसम्म कार्गो रेल सञ्चालन सम्भव भएको हो। उद्योगीहरूले अब विराटनगरबाट निर्यात हुने सामान पनि यही रेलमार्फत पठाउन सकिने भएकाले निर्यात व्यापारलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।