कोलकाता । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित एक होटलमा बुधबार बिहान भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित होटलमा राति करिब १ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै दमकलका पाँच वटा गाडी घटनास्थल पुगेका थिए। प्रहरी तथा विपद् व्यवस्थापन टोलीले पनि उद्धार कार्य थालेका थिए।
दमकलकर्मीले आगो नियन्त्रणमा लिए पनि होटलभित्र बाक्लो धुवाँ भरिएकाले माथिल्ला तलामा पुगेर उद्धार गर्न कठिनाइ भएको बताइएको छ। आगो नियन्त्रणमा आएपछि भवन चिस्याउने तथा भित्र कोही फसेको हुनसक्ने भन्दै खोजी कार्य जारी राखिएको छ।
प्रहरीका अनुसार घटनामा अहिलेसम्म ९ जनाको मृत्यु पुष्टि भएको छ। घाइते ६ जनालाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ। मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।
संयोगवश, पश्चिम बंगाल अग्निशमन विभागको मुख्यालय पनि घटनास्थलनजिकै रहेको बताइएको छ।
केही दिनमै पश्चिम बंगालमा अर्को होटलमा आगलागी
कोलकाताको घटनाभन्दा दुई दिनअघि पश्चिम बंगालकै बीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा पनि भीषण आगलागी भएको थियो। सोमबार बिहान करिब ४ः३० बजे भएको उक्त घटनामा ९ जनाको मृत्यु भएको थियो।
चारतले होटलको भुइँतलाबाट सुरु भएको आगो दोस्रो तलासम्म फैलिएको थियो। अधिकांश पाहुना सुतिरहेका बेला आगलागी भएपछि निस्किएको बाक्लो धुवाँ माथिल्ला तलासम्म पुगेको र धेरै मानिस कोठामै फसेको बताइएको थियो।
घटनाका बेला होटलमा ४३ जना पाहुना रहेको जनाइएको छ। उक्त घटनामा मेघालयको एउटै परिवारका पाँच सदस्यको समेत मृत्यु भएको थियो। प्रहरीले होटल सञ्चालक कल्याण पालसहित दुई जनालाई हिरासतमा लिएर सुरक्षा व्यवस्थामा भएको सम्भावित कमजोरीबारे अनुसन्धान गरिरहेको छ।






