काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई) र सिएनआई कोशी प्रदेशको संयुक्त आयोजनामा राष्ट्रियस्तरको महिला नेतृत्व सम्मेलन आयोजना हुने भएको छ। सम्मेलन आगामी वैशाख २१ गते विराटनगरमा हुने आयोजकले जनाएको छ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजना हुने सम्मेलन ‘दिगो समृद्धितर्फ कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ विषयमा केन्द्रित रहनेछ।

सिएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलनमा महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्थानीय कृषि तथा उद्यमशीलता प्रवर्द्धनका विषयमा गहन छलफल हुने जानकारी दिए।उनका अनुसार सम्मेलनमा सफल महिला उद्यमीहरूको अनुभव आदानप्रदान गरिनुका साथै स्वदेशी उत्पादनहरूको प्रदर्शनीसमेत गरिनेछ।

सम्मेलनमा महिला उद्यमीहरूको सफलताका कथा प्रस्तुति, डिजिटल नवप्रवर्तनसम्बन्धी विशेष छलफल, स्वदेशी वस्तुको प्रदर्शनी तथा उद्यमी, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि र विकास साझेदारबीच अन्तरक्रिया हुने जनाइएको छ।

परिसङ्घका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। सम्मेलनले महिला उद्यमशीलता प्रवर्द्धन र आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा आयोजकले गरेको छ।