काठमाडौँ। काठमाडौँ उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउने क्रममा पुगेको डोजरमाथि ढुंगामुढा भएपछि आजको अभियान स्थगित गरिएको छ।

शनिबार बिहानदेखि नदी किनारका बस्ती तथा अवैध संरचना हटाउने कार्य भइरहेको अवस्थामा साँझ मनोहरा क्षेत्रमा पुगेको डोजरमाथि एक समूहले ढुंगामुढा गरेको प्रहरी स्रोतले जनाएको छ। सो क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको बताइएको छ।

ढुंगामुढाका कारण करिब १२ जना सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार संरचना हटाउने क्रममा टोलीलाई केही स्थानीयले काम स्थगित गरी भोलि गर्न आग्रह गरेका थिए। तर टोली फर्कने क्रममा मादक पदार्थ सेवन गरेको जस्तो देखिने समूहले आक्रमण गरेको एक प्रहरी अधिकारीले बताएका छन्।

घटनापछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले प्रयास गरे पनि चारैतिरबाट ढुंगामुढा हुन थालेपछि सशस्त्र प्रहरी बलले आजका लागि अतिक्रमण हटाउने अभियान स्थगित गरेको जनाएको छ। टोली अहिले सुरक्षित रूपमा पछाडि हटेको छ।