ललितपुर। दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यसहित लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ।

गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्त नागरिकलाई लक्षित गर्दै घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको हो।

ADVERTISEMENT

उपाध्यक्ष गोलेले भनिन्, “हाम्रो पालिकाका धेरै वडाहरू टाढा र दुर्गम क्षेत्रमा छन्। ज्येष्ठ नागरिक, एकल महिला तथा अशक्त नागरिकले पालिका केन्द्र गोटीखेलस्थित बैंकसम्म पुगेर भत्ता लिनुपर्ने बाध्यता अब अन्त्य भएको छ। त्यसैले घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेका छौँ।”

महाङ्काल गाउँपालिका–६ ठूलादुर्लाङबाट औपचारिक रूपमा सेवा सुरु गरिएको हो। घरमै भत्ता पाउँदा ज्येष्ठ नागरिक, अशक्त तथा एकल महिलाहरूले खुसी व्यक्त गरेका छन्। पालिकाले यो सेवा क्रमशः सबै वडामा विस्तार गर्ने योजना बनाएको छ।

ADVERTISEMENT

त्यसैगरी, घुम्ती शिविरमार्फत नागरिकता सिफारिस, सामाजिक सुरक्षा सेवा तथा व्यक्तिगत घटना दर्ता जस्ता सेवा पनि वडास्तरमै उपलब्ध गराइने उपाध्यक्ष गोलेले जानकारी दिइन्।

‘अब पालिकामा होइन, सेवा तपाईंको घरमै’ भन्ने नारासहित सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिक केन्द्रित बनाउने अभियान अघि बढाइएको गाउँपालिकाले जनाएको छ।