काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा पुनः बढाउने तयारीमा सरकार अघि बढेको छ। वैज्ञानिक प्रणाली अनुसार भाडा समायोजन भएको दुई साताभित्रै यातायात व्यवस्था विभागले फेरि भाडा वृद्धि गर्ने प्रस्ताव तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको छ।
गत चैत २५ गते सरकारले वैज्ञानिक प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा २२ प्रतिशतसम्म वृद्धि गरेको थियो। सो समयमा यात्रु वाहक सवारीमा १६.७१ प्रतिशत तथा पहाडी र तराई मार्गमा सञ्चालन हुने मालवाहक सवारीमा क्रमशः २१.६८ र १५.७५ प्रतिशत भाडा वृद्धि गरिएको थियो।
तर भाडा समायोजनपछि डिजेलको मूल्य दुई चरणमा गरी प्रति लिटर ५५ रुपैयाँले बढेर १८२ रुपैयाँबाट २३७ रुपैयाँ पुगेको छ। यही कारण देखाउँदै पुनः भाडा समायोजनको प्रक्रिया अघि बढाइएको हो।
वैज्ञानिक भाडा समायोजन कार्यविधिअनुसार भाडा निर्धारणमा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र अन्य १३ शीर्षक (जस्तै बिमा, कर, बैंक ब्याज, पार्टपुर्जा, टायर, लुब्रिकेन्ट आदि) को ६५ प्रतिशत योगदान रहने व्यवस्था छ। साथै, इन्धनको मूल्य १५ प्रतिशतले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन हुने प्रावधान पनि कार्यविधिमा उल्लेख छ।
चैत २५ यता डिजेलको मूल्य झण्डै ३० प्रतिशतले वृद्धि भएकाले सरकारले पुनः भाडा समायोजनको तयारी गरेको हो।






