काठमाडौं । पुरातत्वसँग सम्बन्धित काममा संलग्न सहायक पथप्रदर्शक देउकला अधिकारीको खातामा ४ करोड २२ लाख रुपैयाँ घुस जम्मा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पुरातत्व विभागका उपसचिव पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीमाथि ठेक्कापट्टामा घुस लिएको आरोप लगाएको हो।

निर्माण सेवा प्रा.लि नामक कम्पनीले विभिन्न कामका लागि ६४ करोड २१ लाख रुपैयाँ बराबरका ठेक्का पाएको थियो। ती ठेक्कासँग सम्बन्धित रकममध्ये केही भाग घुसका रूपमा अधिकारीको खातामा राखिएको आरोप छ। अख्तियारका अनुसार विभिन्न ठेक्कामा सहजीकरण गरिदिएको बदलामा ४ करोड २२ लाख रुपैयाँ खातामा फेला परेको हो।

अनुसन्धानका क्रममा उनीहरूले नुवाकोटमा १५ रोपनी र काठमाडौंमा साढे तीन आना जग्गा किनेको देखिएको छ। त्यसैगरी, घुसबाट प्राप्त रकमले करिब १०० ग्राम सुन खरिद गरिएको, रकम नगदमा साटिएको र ऋणका रूपमा लगानी गरिएको पनि आरोप लगाइएको छ। यस प्रकरणमा उनीहरूमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर गरिएको छ।

नाम : देउकला अधिकारी

पद : सहायक पथ प्रदर्शक(सुब्बा)

खातामा घुस : चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ ।