काठमाडौँ। बेइजिङ इकोनोमिक–टेक्नोलोजिकल डेभलपमेन्ट एरियामा सम्पन्न ‘बेइजिङ ई–टाउन हाफ म्याराथन २०२६’ मा मानव आकृतिको रोबोटले ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

चीनको शेन्जेनस्थित शेन्जेन अनर स्मार्ट टेक्नोलोजी डेभलपमेन्ट  द्वारा विकसित ‘फ्ल्यास’ नामक रोबोटले ५० मिनेट २६ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरेको हो। यस उपलब्धिसँगै उसले मानवतर्फको हाफ म्याराथन विश्व कीर्तिमानलाई समेत उछिनेको छ। पुरुषतर्फको विश्व कीर्तिमान जेकब किप्लिमोले पोर्चुगलको लिस्बन हाफ म्याराथन मा ५७ मिनेट २० सेकेन्डमा बनाएका थिए।

ADVERTISEMENT

रोबोट र मानवबीच प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा दुवैले एउटै मार्ग प्रयोग गरे पनि सुरक्षाका लागि फरक लेनको व्यवस्था गरिएको थियो। रोबोटतर्फ दौड पूरा गर्ने अधिकतम समय तीन घण्टा ४० मिनेट तोकिएको थियो।

ADVERTISEMENT

गत वर्ष पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा रोबोटहरूको प्रदर्शन कमजोर देखिएको थियो। त्यतिबेला २० टोलीमध्ये केवल ६ टोलीले मात्र दूरी पूरा गर्न सकेका थिए। ‘तियाङगोंग अल्ट्रा’ नामक रोबोटले २ घण्टा ४० मिनेट ४२ सेकेन्डमा दूरी पूरा गर्दै विजेता बनेको थियो।

ADVERTISEMENT

यस वर्ष भने रोबोट प्रविधिमा उल्लेखनीय सुधार देखिएको छ। १०० भन्दा बढी टोली सहभागी भएको प्रतियोगितामा जर्मनी, फ्रान्स र ब्राजिललगायत देशका टोली सहभागी थिए।

प्रतियोगितामा यसपटक ‘स्वचालित मार्गनिर्देशन’ र ‘टाढाबाट नियन्त्रण’ गरी दुई विधा समावेश गरिएको थियो। टाढाबाट नियन्त्रण विधामा प्रतिस्पर्धा गर्ने टोलीको समयलाई १.२ गुणा गरेर मूल्यांकन गरिएको थियो। करिब ४० प्रतिशत टोलीले स्वचालित प्रणाली प्रयोग गरेका थिए, जसले राम्रो नतिजा दिएको छ।

चिनियाँ इलेक्ट्रोनिक्स संस्थानका उपमहासचिव लियाङ लियाङका अनुसार स्वचालित प्रणालीलाई प्राथमिकता दिन यस्तो व्यवस्था गरिएको हो, जसले भविष्यमा रोबोटको प्रयोग दैनिक जीवनमा अझ विस्तार हुने संकेत गर्दछ।

मानवतर्फको प्रतिस्पर्धामा चीनकाझाओ हाइजिएले १ घण्टा ७ मिनेट ४७ सेकेन्डमा पुरुषतर्फको उपाधि जिते भने महिलातर्फ वाङ चियाओशियाले १ घण्टा १८ मिनेट ६ सेकेन्डमा स्वर्ण पदक जितिन्।

यो उपलब्धिले रोबोट प्रविधिको तीव्र विकाससँगै भविष्यमा मानवसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा ठूलो प्रगति भएको देखाएको छ।