काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता खारेज नभई व्यवस्थित गर्न खोजेको बताएका छन् । उनले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रममा पौडेलले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए।
एकपटक डिजिटल रेकर्ड भएपछि नवीकरणमा सहजता पुग्ने भन्दै उनले एकपटक आआफ्नो स्थानबाट मेहनत गरिदिन नेताहरुलाई आग्रह गरे। सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै उनले यसमा अलमलमा नपर्न आग्रह गरे।
पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेकाले पार्टी सर्कुलर गर्न, आमसदस्यको राय लिन तथा पार्टीका गतिविधिबारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए। उनले पार्टीको सदस्यसँग विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको प्रष्ट पारे।
महामन्त्री पौडेलले सदस्यताका लागि वडामै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामा नै जानुपर्ने व्यवस्था गरिएको बताए।
कांग्रेसमा इतर पक्षले क्रियाशील सदस्यता खारेज गर्न लागेको भन्दै तीव्र असन्तुष्टि जनाएको छ । निवर्तमान कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चैत ३० मा विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता खारेज गर्ने पार्टीको निर्णय अमान्य हुने चेतावनी दिएका थिए ।








