काठमाडौं, इजरायलमा आधारित दुई प्रमुख मानवअधिकार संस्थाहरू, बी’ट्सेलेम र फिजिसियन्स फर ह्युमन राइट्स इजरायल (PHRI), ले इजरायल सरकारमाथि गाजामा प्यालेस्टिनीहरूविरुद्ध नरसंहार (जेनोसाइड) गरेको गम्भीर आरोप लगाएका छन्। यी संस्थाहरूद्वारा  सोमबार प्रकाशित प्रतिवेदनहरूमा इजरायलको नीति र त्यसले निम्ताएको विनाशकारी परिणामहरूको विश्लेषण गर्दै गाजामा भएको कार्यलाई नरसंहारको रूपमा वर्गीकरण गरेका हुन्। यी संस्थाहरू इजरायलमा लामो समयदेखि मानवअधिकार उल्लंघनको क्षेत्रमा काम  गर्दै आएका छन्, र पहिलो पटक यिनीहरूले यस्तो गम्भीर आरोप लगाएका छन्।

बी’ट्सेलेमको ७९ पृष्ठको प्रतिवेदनले गाजामा इजरायलको सैन्य कारबाही, ठूलो संख्यामा नागरिकहरुको मृत्यु, मानब बस्तीहरूको विनाश, जबरजस्ती विस्थापन, र भोकमरीजस्ता परिस्थितिहरूको सिर्जनालाई नरसंहारको स्पष्ट संकेतको रूपमा उल्लेख गरेको छ। प्रतिवेदनले इजरायली नेताहरू र सैन्य कमान्डरहरूका भनाइहरूलाई समेत उद्धृत गरेको छ, जसले नियोजित रुपमा प्यालेस्टिनी जनसंख्यालाई लक्षित गर्ने नियत देखाएको दाबी गरिएको छ। यस्तै, PHRI ले आफ्नो प्रतिवेदनमा गाजाको स्वास्थ्य प्रणाली र अन्य आधारभूत सेवाहरू नियतवश विनाश गरिएको बताएका  छन् , जसलाई उनीहरूले प्यालेस्टिनी जनताको अस्तित्वमाथिको सुनियोजित आक्रमणको रूपमा व्याख्या गरेका छन्।

ADVERTISEMENT

यी संस्थाहरूले इजरायलको कार्यलाई सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणको प्रतिक्रियास्वरूप गरिएको आत्मरक्षाको रूपमा मान्यता दिन नसकिने बताएका छन्। उनीहरूले यो कार्य हमासको सैन्य संरचनालाई नष्ट गर्नेभन्दा पनि समग्र प्यालेस्टिनी समाजलाई ध्वस्त पार्ने उद्देश्यले गरिएको दाबी गरेका छन्। यी आरोपहरूले अन्तर्राष्ट्रिय समुदायलाई पनि दोषी ठहराएको छ, जसले गाजामा मानवीय सहायताको पहुँच रोक्ने र सैन्य सहयोग जारी राख्ने कार्यलाई मौन समर्थन गरेको आरोप लगाइएको छ।

यो प्रतिवेदनले गाजा भइरहेको मानवीय संकटलाई लिएर विश्वव्यापी आक्रोश बढिरहेको समयमा आएको छ। गाजा भोकमरी, स्वास्थ्य सेवाको अभाव र लाखौंको विस्थापनले गाजाको अवस्था अत्यन्तै दयनीय बनेको छ। यी आरोपहरूले इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढाउने अपेक्षा गरिएको छ। इजरायलले भने यस्ता आरोपहरूलाई खण्डन गर्दै आएको छ, र उसको कार्य हमासविरुद्धको आत्मरक्षा भएको दाबी गरेको छ।