काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा देशवासीका नाममा सन्देश जारी गर्दै सबै पक्षको माग सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्नुपर्नेमा विशेष जोड दिएका छन् ।
नववर्षको अवसरमा देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले राष्ट्रलाई सही दिशामा अघि बढाउन संवाद, सहमति र सहकार्य आवश्यक रहेको बताएका छन् ।
सन्देशमा उनले विगतका वर्षहरूमा अपेक्षित विकास हुन नसकेको जनभावना रहेको उल्लेख गर्दै नेपाल निरन्तर प्रयोग र विकल्प खोज्ने अवस्थामै अल्झिएको टिप्पणी गरेका छन् । उनले राजनीतिक प्रणाली, शासन व्यवस्था र संरचनामा बारम्बार परिवर्तन भए पनि त्यसले राष्ट्रको समग्र उन्नतिमा ठोस योगदान दिन नसकेको बताएका छन् ।
“हामी धेरै दगुरियौँ, तर राष्ट्रको श्रीवृद्धिमा पछि पर्यौँ,” भन्ने भाव व्यक्त गर्दै उनले देश स्थिरता, निरन्तरता र दृढताबाट टाढा गएको उल्लेख गरेका छन् । विगतका अनुभवबाट केवल व्यक्ति वा प्रणाली परिवर्तनले मात्र अपेक्षित परिणाम नआउने पाठ सिकिएको उनको भनाइ छ ।
उनले अहिले देश आर्थिक, सामाजिक तथा सुरक्षा चुनौतीले घेरिएको उल्लेख गर्दै यस्तो अवस्थामा राष्ट्रिय प्राथमिकता स्पष्ट हुनुपर्ने बताएका छन् । आर्थिक अवस्था सुदृढ गर्ने, छिमेकी तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रसँग सहकार्य बढाउने र आन्तरिक सुरक्षालाई मजबुत बनाउनेतर्फ राज्यले ध्यान केन्द्रित गर्नुपर्ने उनले औँल्याएका छन् ।
आन्तरिक सुरक्षाको सन्दर्भमा उनले नागरिकको जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु तथा स्रोत–साधनको संरक्षण र मानवीय सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्नुपर्ने बताएका छन् । विश्वव्यापी अस्थिरता र संकटका बीच नेपालले आफ्नो अस्तित्व जोगाउन र आवश्यक वस्तु व्यवस्थापनमा राज्य गम्भीर हुनुपर्ने उनको धारणा छ ।
साथै उनले आत्मनिर्भरता र स्वाधीनताको महत्व औँल्याउँदै देशलाई परनिर्भरताबाट मुक्त गर्नुपर्ने बताएका छन् । राष्ट्रका स्रोत–साधनको उचित उपयोग, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्नुपर्ने उनले जोड दिएका छन् ।
राजनीतिक सन्दर्भमा उनले निषेध, विभाजन, बन्द र विद्रोहजस्ता गतिविधिले राष्ट्र कमजोर बनाउने भन्दै यस्ता प्रवृत्तिबाट टाढा रहन आग्रह गरेका छन् । उनले परस्परको द्वेष, प्रतिशोध र असहमतिलाई त्याग्दै सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।
विशेषगरी उनले जनचाहनालाई केन्द्रमा राखेर निर्णय लिन ढिलाइ नगर्न आग्रह गर्दै संवाद, सहमति र सहकार्यमार्फत सबै पक्षका माग सम्बोधन हुने संवैधानिक समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार देशलाई दीर्घकालीन शान्ति, स्थिरता र समृद्धितर्फ लैजान यही मार्ग उपयुक्त हुनेछ । उनले नेपाललाई शान्ति, उन्नति र मौलिक पहिचानसहितको राष्ट्रका रूपमा स्थापित गर्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।
सन्देशको अन्त्यमा उनले सम्पूर्ण नेपालीलाई न्याय, शान्ति र सुख प्राप्त होस् भन्ने कामना व्यक्त गर्दै देशको समग्र कल्याणका लागि सबैलाई सकारात्मक सोच र सहकार्यमा अघि बढ्न आह्वान गरेका छन् ।






