काठमाडौं। निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लेटिनममा आयोजित उक्त कार्यक्रममा २० भन्दा बढी लिम्ब लेस (अंग गुमाएका वा कृत्रिम अंग प्रयोग गर्ने) व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।

‘साइडलाइनबाट स्पटलाइटसम्म’ भन्ने नाराका साथ आयोजना गरिएको यो कार्यक्रम केवल फेसन शो मात्र नभई आत्मविश्वास, क्षमता र पहिचान अभिव्यक्त गर्ने सशक्त प्लेटफर्मका रूपमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका सहभागीहरूलाई दुई हप्तासम्म विभिन्न प्रशिक्षण, ग्रुमिङ तथा व्यक्तित्व विकाससम्बन्धी सत्रहरू सञ्चालन गरी रनवेका लागि तयार पारिएको थियो। यस क्रममा कृत्रिम हातखुट्टा (प्रोस्थेटिक) प्रयोग गर्ने व्यक्तिहरूको हेरचाह, प्रयोग तथा व्यवस्थापनबारे पनि विशेष जानकारी प्रदान गरिएको थियो।

रनवेमा सहभागीहरूले डिजाइनर पहिरनसँगै आफ्नो आत्मबल, संघर्ष र प्रतिभा प्रस्तुत गरेका थिए। उनीहरूले कृत्रिम अंगलाई कमजोरीका रूपमा नभई आफ्नो शक्ति, पहिचान र आत्मगौरवको प्रतीकका रूपमा आत्मविश्वासका साथ प्रस्तुत गरे।

विश्वभर अप्रिल महिनालाई ‘लिम्ब लस अवेयरनेस मन्थ’ का रूपमा मनाइने भएकाले यस कार्यक्रममार्फत समाजमा सचेतना फैलाउने उद्देश्य समेत राखिएको आयोजकको भनाइ छ। कार्यक्रममा विभिन्न पेशा र पृष्ठभूमिका महिला, पुरुष तथा अन्य सहभागीहरू रनवेमा उत्रिएका थिए।

आयोजकका अनुसार सौन्दर्य केवल बाहिरी रूपमै सीमित नभई आत्मविश्वास, संघर्ष र पहिचानमा निहित हुन्छ भन्ने सन्देश कार्यक्रमले प्रभावकारी रूपमा दिएको छ।