काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल नवौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मरिसस पुगेका छन् । सम्मेलनका क्रममा उनले आफ्ना समकक्षीहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्दै नेपालको द्विपक्षीय हित र क्षेत्रीय सहकार्यका एजेन्डालाई अघि बढाएका छन् ।
मरिससको राजधानी पोर्ट लुइस मा मन्त्री खनालले आयोजक राष्ट्रका विदेश तथा अन्तर्राष्ट्रिय व्यापारमन्त्री धनञ्जय रामफल र सिङ्गापुरका विदेश राज्यमन्त्री जुल्कर्नाइन अब्दुल रहीम सँग छुट्टाछुट्टै संवाद गरेका छन् ।
यसअघि शुक्रबार उनले भारतीय विदेशमन्त्री एस. जयशंकर, भुटानका विदेशमन्त्री डीएन ढुंगेल र बङ्गलादेशका विदेशमन्त्री लालिलुर रहमान सँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस्तै, सिसेल का परराष्ट्रमन्त्री बेरी फियुर सँग समेत छलफल भएको थियो ।
भारतीय विदेशमन्त्री जयशंकरसँगको भेटमा नेपाल–भारत सम्बन्धका समग्र पक्ष तथा आपसी सहकार्यका क्षेत्रबारे समीक्षा गरिएको थियो भने भुटान र बङ्गलादेशका समकक्षीसँग क्षेत्रीय कनेक्टिभिटी र ऊर्जा व्यापारका विषयमा कुराकानी भएको राष्ट्रिय समाचार समिति ले जनाएको छ ।
मरिसससँगको भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विषयमा छलफल भएको थियो । विशेषगरी टापु राष्ट्रहरूसँग जलवायु परिवर्तन र पर्यटन प्रवर्द्धनका साझा मुद्दामा सहकार्य गर्ने विषयले प्राथमिकता पाएको छ ।
सिङ्गापुरसँगको संवादमा दक्षिण–पूर्वी एसिया र दक्षिण एसियाबीचको कनेक्टिभिटी तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्ने सहमति भएको जनाइएको छ ।
भेटवार्ताका क्रममा मन्त्री खनालले नेपालमा वैदेशिक लगानीको वातावरण तथा द्विपक्षीय व्यापारका सम्भावित क्षेत्रहरूबारे जानकारी गराएका थिए ।
हिन्द महासागर क्षेत्रको सुरक्षा र आर्थिक सम्भावनाका विषयमा केन्द्रित यस सम्मेलनमा नेपालको सहभागितालाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । भूपरिवेष्ठित मुलुक भए पनि समुद्रसँगको पहुँच र ‘ब्लु इकोनोमी’का लाभमा नेपालले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।