काठमाडौँ। काठमाडौँ–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यस परियोजनालाई बहुआयामिक महत्वको रूपमा हेरिएको छ।
यस सुरुङमार्गको औपचारिक शिलान्यास २०७६ कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। प्रारम्भिक रूपमा करिब २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजना निर्माणका क्रममा भूगर्भीय समस्या, डिजाइन परिवर्तनलगायत कारणले बढेर २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको यस परियोजनाको जिम्मा जापानी कम्पनी हाजमा–आन्दो जेभीले लिएको थियो। सुरुवाती लक्ष्यअनुसार करिब ४२ महिनाभित्र २०७८/८० सम्म सम्पन्न गर्ने योजना भए पनि विभिन्न प्राविधिक तथा भौगोलिक चुनौतीका कारण समय लम्बिँदै २०८२ सम्म आइपुग्दा निर्माण कार्य सम्पन्न भएको छ। हाल धादिङ क्षेत्रमा पहिरो नियन्त्रण तथा टोल गेट निर्माणको काम जारी रहेको छ।

सुरुङमार्ग सञ्चालनको ठेक्का भने चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाएको छ। सडक विभागअन्तर्गतको परियोजना कार्यालयले पाँच वर्षका लागि करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा उक्त कम्पनीलाई ठेक्का दिएको हो।
यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि शुल्कसमेत सार्वजनिक गरिसकेको छ। मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार राजपत्रमा सूचना प्रकाशित गरी शुल्क निर्धारण गरिएको हो।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ लाग्नेछ। मिनीबस तथा मिनी ट्रकका लागि प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ।
त्यस्तै, बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० र बाहिरिँदा २०० रुपैयाँ निर्धारण गरिएको छ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ लाग्नेछ।







