काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहलाई पदबाट बर्खास्त गरेपछि उनकी पत्नी जुन श्रेष्ठले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै श्रेष्ठले आफ्नो श्रीमानमाथि अन्याय भएको दाबी गरेकी हुन्। उनले कुनै पनि प्रकारको स्पष्टीकरण नसोधी गरिएको कारबाहीलाई सुशासनविपरीत भएको टिप्पणी गरिन्।
हालै श्रममन्त्री साहले आफ्नी पत्नी श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बिमा बोर्डमा नियुक्ति गराएको आरोप सार्वजनिक भएको थियो। उक्त विषयलाई लिएर आलोचना भएपछि श्रेष्ठले आफ्नो नियुक्तिलाई श्रीमानसँग जोडेर हेर्न नहुने स्पष्ट पारेकी छन्।
उनले आफू योग्यताका आधारमा उक्त पदमा निरन्तर रहेको दाबी गर्दै आफ्नो शैक्षिक योग्यता र कार्यअनुभवको विस्तृत विवरण भिडियोमार्फत सार्वजनिक गरेकी छन्।
श्रेष्ठले भनिन्, “मेरो काम र योग्यताको आधारमा मलाई जिम्मेवारी दिइएको हो, यसलाई अनावश्यक रूपमा व्यक्तिगत सम्बन्धसँग जोड्नु उचित हुँदैन।”
यस्तै, उनले आफ्नो तथा श्रीमानको पक्ष सुन्ने अवसर नदिई गरिएको निर्णयप्रति गम्भीर असहमति जनाउँदै यसले सुशासनको मर्ममाथि प्रश्न उठाएको बताइन्।
सरकारले भने मन्त्री बर्खास्तीबारे औपचारिक रूपमा थप स्पष्टीकरण दिएको छैन