काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यमा भएको उल्लेखनीय वृद्धिपछि त्यसको प्रत्यक्ष असर सार्वजनिक यातायात क्षेत्रमा देखिएको छ। यातायात व्यवस्थापन विभाग नेपालका अनुसार मन्त्रालयको सहमतिमा देशभर लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको छ।

नयाँ समायोजित दरअनुसार यात्रुवाहक सवारीसाधनको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीसाधनको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ।

भाडा समायोजनबारे प्रतिक्रिया दिँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यो निर्णयलाई ‘मूल्य वृद्धि’ भन्दा पनि ‘समायोजन’ का रूपमा बुझ्नुपर्ने बताएका छन्। उनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा पुरानै भाडादरमा सेवा सञ्चालन गर्न कठिन भएको उल्लेख गरे।

सरकारले इन्धनको मूल्यमा गरेको समायोजनपछि यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा पुनरावलोकनको माग गर्दै आएका थिए। सोही मागलाई सम्बोधन गर्दै नयाँ दर लागू गरिएको विभागले जनाएको छ।

नयाँ भाडादर लागू भएसँगै यात्रुहरूले अब पहिलेको तुलनामा बढी रकम तिर्नुपर्नेछ। यसले दैनिक आवागमन गर्ने सर्वसाधारणदेखि व्यवसायिक ढुवानीसम्ममा लागत वृद्धि हुने देखिएको छ।

विशेषगरी दैनिक रूपमा सार्वजनिक सवारी प्रयोग गर्ने विद्यार्थी, कर्मचारी तथा मजदुर वर्गमा यस निर्णयले थप आर्थिक भार पर्ने अनुमान गरिएको छ। त्यस्तै, मालवाहक सवारीको भाडा बढ्दा बजारमा उपभोग्य वस्तुको मूल्यमा समेत अप्रत्यक्ष असर पर्ने सम्भावना रहेको जानकारहरू बताउँछन्।

सरकारले भने इन्धन मूल्यसँगै अन्य सञ्चालन खर्चलाई ध्यानमा राखेर वैज्ञानिक आधारमा भाडा समायोजन गरिएको जनाएको छ। नयाँ दरले यातायात सेवा निरन्तर र व्यवस्थित रूपमा सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।