काठमाडौं । दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ खुलेको छैन । अग्रिम टिकट बुकिङ नखुल्दै काठमाडौंको बसपार्कमा काठमाडौं छोड्नेको बाक्लो भडि लागेको छ ।
जेनजी आन्दोलनको विषम परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय मातहतका कलेजहरु र धेरैजसो विद्यालयहरु बन्द हुँदा दशैं आउनु आधा महिना अघि नै बसपार्कमा काठमाडौं छोड्नेको भीड लागेको हो ।
पछिल्ला करिव ४ दिनदेखि काठमाडौंको नयाँ बसपार्कमा हरेकदिन काठमाडौंबाट बाहिरिनेहरुको संख्या धेरै रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
अघिल्ला बर्षहरुमा सरकार र सार्वजनिक यातायात व्यवसायीहरुबीच दशैको एक महिनाअगावै अग्रिम टिकट बुकिङ खुलाईँदै आएको थियो । यसपटक भने सडकको अवस्था र पछिल्लो समय निम्तिएको जेन–जी आन्दोलनका कारण हालसम्म टिकट बुकिङ खुलेको छैन् ।
हालसम्म यातायात व्यवसायीहरुले न अग्रिम टिकट बुकिङ खुलाउन सकेका छन् न त सरकारले सडक सुरक्षा र यात्रा सुरक्षाको प्रत्याभूति दिन सकेको छ ।
दशैंमा यात्रुलाई आफ्नो आफ्नो गन्तव्यसम्म पुर्याउने प्रक्रिया सहज गर्न भन्दै यसपटक अग्रिम टिकट बुकिङ खुलाउने गरी आइतबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायतबीच पहिलो चरणको छलफल भएको थियो ।
यसरी हेर्दा दशैं आउन दुुई साता बाँकी रहँदा विषम परिस्थितिकै कारण बेलैमा अग्रिम टिकट बुकिङ खुलाउन नसकिएकाले पहिलो दिनको छलफलमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको थियो ।
आन्दोलनका कारण सार्वजनिक यातायातमा पुगेको क्षति, बर्षाले सडकमा पुगेको क्षतिलगायतको अध्ययन गरी सोहीअनुसार यात्रा सहज तुल्याउन यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो ।
यसैका बिषयमा आज अर्थात सोमबार पनि छलफल हुने र आजको छलफलले अग्रिम टिकट बुकिङको मिति चयन गरी त्यहि अनुसारको तयारी गर्ने सिटौलाले जानकारी दिए ।
यसपटक अग्रिम टिकट बुकिङ खुलेपनि अघिल्ला बर्षहरुजस्तो भने भीड नहुने उनको अनुमान छ । आन्दोलनका कारण विद्यालय र कलेजहरु बन्द भएपछि विद्यार्थीहरु धमाधम अहिले नै काठमाडौं छोडिरहेका छन् ।
यसपटक करिव १५ लाख नागरिकले दशैंका लागि भन्दै काठमाडौं छोड्ने अनुमान गरिएको व्यवसायीको भनाई छ ।







