काठमाडौं। अमेरिकाले एकैपटक ४५ जना नेपाली नागरिकलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई निष्कासन गरी नेपाल पठाइएको हो।निष्कासनमा परेका नेपालीहरूओमनी एयरलायन्सको विमानमार्फत भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेका छन्। उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै सुरक्षा निकायको निगरानीमा राखिएका छन्।
प्रहरी स्रोतका अनुसार हाल नेपाल प्रहरी को मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूसँग विस्तृत सोधपुछ गरिरहेको छ। उनीहरू कसरी अमेरिका पुगे, त्यसमा मानव तस्करी वा अन्य गैरकानुनी सञ्जालको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ।
प्रहरीले प्रारम्भिक रूपमा दिएको जानकारीअनुसार धेरै नेपालीहरू विभिन्न प्रलोभनमा परेर गैरकानुनी बाटो प्रयोग गर्दै अमेरिका प्रवेश गर्ने गरेका छन्। आवश्यक कागजात बिना अमेरिका पुगेपछि त्यहाँको अध्यागमन निकायले पक्राउ गरी निष्कासन गर्ने प्रक्रिया अघि बढाउने गरेको छ।
यसअघि पनि पटक–पटक सयौं नेपालीहरू अमेरिकाबाट निष्कासित हुँदै आएका छन्। पछिल्लो घटनाले पुनः वैदेशिक रोजगारी र आप्रवासनका नाममा हुने ठगी तथा मानव बेचबिखनको जोखिमप्रति सतर्क रहनुपर्ने आवश्यकता औंल्याएको छ।








