काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न अस्वीकार गरेको छ । उनलाई रिहाको माग गर्दै हालिएको बन्दी प्रत्यक्षीकरणको रिटमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो।
न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेसँगै लेखक रिहा हुने सम्भावना कमजोर भएको छ । लेखक पत्नी यशोदाले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।
रिटमा सरकारका नाममा कारण देखाऊ आदेश मात्रै आएसँगै लेखक काठमाडौं जिल्ला अदालतको आइतबारको आदेशअनुसार अब पाँच दिन हिरासतमा रहनेछन् । प्रहरीले १० दिन हिरासतमा राखेर छानबिन गर्न माग गरे पनि जिल्ला अदालतले पाँच दिन समय दिएको थियो ।
एमाले अध्यक्ष केपी ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखककाे तर्फबाट पत्नी यशाेदाले आइतबार छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन पेस गरेका थिए । गत भदौ २३ र २४ गते भएको घटनामा भएको जाँचबुझ प्रतिवेदनका आधारमा ओली र लेखक चैत १४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । दुवै जनालाई जिल्ला अदालत, काठमाडौंले पाँच दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको छ ।








