काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई चीनका प्रधानमन्त्री ली छ्याङले बधाई दिएका छन् । उनले नेपालको प्रधानमन्त्री नियुक्त भएकामा बालेनलाई बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहलाई शनिबार बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै लि छ्याङले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताएकाछन् ।
चिनियाँ दूतावासका अनुसार प्रधानमन्त्री लीले नेपाल सरकारको सुशासन प्रयासमा चीनको समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सन्देशमा प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर बेल्ट एण्ड रोड इनिसिएटभ्लाई अघि बढाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताएका छन् । साथै, प्रधानमन्त्री लीले विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहो¥याएका छन् ।







