काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास थप बलियो बनाएको जनाएको छ।संस्थाका अध्यक्ष मदनकृष्ण शर्मा ले बुधबार जारी गरेको विज्ञप्तिमा हालै सम्पन्न निर्वाचनले नेपालमा लोकतन्त्रलाई थप मजबुत बनाएको उल्लेख गरेका छन्।

उनका अनुसार प्राप्त मतपरिणामले नेपाली जनताले परिवर्तन, सुशासन र समृद्धिको चाहना व्यक्त गरेको स्पष्ट देखिएको छ। अब बन्ने सरकारले जनहितका पक्षमा प्रभावकारी काम गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी सहित निर्वाचनमा विजयी भएका सबै राजनीतिक दलका जनप्रतिनिधिलाई ट्रान्सपरेन्सी इन्टरनेसनलका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। साथै उनले युवापुस्ताको भावना र अपेक्षाअनुसार काम गर्न नयाँ सरकारलाई आग्रह गरेका छन्।

निर्वाचनमार्फत नेपाली नागरिकले दिएको विश्वासलाई सम्मान गर्दै आगामी प्रतिनिधिसभा र संघीय सरकारले युवाहित, भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्।

निर्वाचनका क्रममा जनतासमक्ष गरिएका प्रतिबद्धता पूरा गर्दै आम नागरिकले सुशासनको स्पष्ट अनुभूति गर्ने गरी सरकार अघि बढ्ने अपेक्षा ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको छ।