काठमाडौं । राजनीतिमा भावना र सम्बन्धभन्दा अघि विचार आउने भनाइलाई यसपटक रुकुम पश्चिमको निर्वाचन परिणामले पुष्टि गरेको छ। यसअघि पटक–पटक जनार्दन शर्मालाई संसद्‌मा पुर्‍याउन चुनावी अभियानको कमान्ड सम्हालेका गोपाल शर्मा ‘अनल’ले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनै जनार्दनविरुद्ध जित हासिल गरेका छन्।

ADVERTISEMENT

तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बनेपछि बाहिरिएका जनार्दन शर्माले यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका थिए। पाँचौं पटक चुनाव जित्ने उनको प्रयास यसपटक सफल हुन सकेन, उनी निकटतम प्रतिस्पर्धी समेत बन्न सकेनन्।

निर्वाचन परिणामअनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले २१ हजार ६०९ मत प्राप्त गर्दै विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार राजु केसी १६ हजार ६६१ मतसहित दोस्रो स्थानमा रहे भने प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा १४ हजार ३४६ मतसहित तेस्रो स्थानमा सीमित भए।

ADVERTISEMENT

जनार्दन शर्माले नयाँ पार्टी निर्माण गरेर विचारबाट विचलित भएको आरोप लगाउँदै रुकुम पश्चिमको कम्युनिस्ट विरासत जोगाउने मुख्य एजेन्डासहित गोपाल शर्मा निर्वाचनमा होमिएका थिए। विगतमा २०६४, २०७०, २०७४ र २०७९ का चारवटै निर्वाचनमा जनार्दनलाई जिताउन जिल्लाको चुनावी कमान्ड सम्हालेका गोपालले यसपटक भने आफैंले सानदार जित हासिल गरेका हुन्।

संघीय संसद्मा यो उनको पहिलो प्रवेश भए पनि उनीसँग संसदीय अनुभव भने छ। २०७४ सालको निर्वाचनमा रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी २०७८ मा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री समेत बनेका थिए।

१२ पुस २०३४ मा साविक विजयश्वरी गाविस (हाल चौरजहारी नगरपालिका–५) को लहरेसिमल गाउँमा आमा कस्तुरा ढकाल र बुवा परमानन्द ढकालका कान्छा छोराका रूपमा उनको जन्म भएको हो। स्नातक तहसम्मको शिक्षा हासिल गरेका शर्मा २०४६ सालमा १२ वर्षकै उमेरमा अनेरास्ववियु (क्रान्तिकारी) मा आबद्ध भएका थिए।

विद्यार्थी राजनीतिबाट नेतृत्वमा उदाएका उनी २०५३ सालमा जिल्ला अध्यक्ष बने। २०५४ मा विद्यार्थी संगठनको केन्द्रीय सदस्य र २०५६ मा केन्द्रीय उपाध्यक्ष बनेका थिए। सोही वर्ष उनी तत्कालीन नेकपा (माओवादी) का सदस्य बनेका थिए।

राजनीतिक जीवनमा उनी २०५६ मा रुकुम जिल्ला कमिटी सदस्य, २०५७ मा विशेष उपक्षेत्रीय ब्युरो सदस्य बने। २०५८ देखि २०६० सम्म भेरी–कर्णाली उपक्षेत्रीय ब्युरोमा काम गरेका उनले २०६० देखि २०६२ सम्म बाँके–बर्दिया इन्चार्जको जिम्मेवारी सम्हाले। २०६२ माघमा रुकुम फर्किएपछि उनले २०६४ सम्म जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरे।

पार्टीमा निरन्तर सक्रिय रहेका शर्मा २०७१ मा रुकुम जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बने। २०७३ मा पोलिटब्युरो सदस्य बनेका उनले २०७५ मा तत्कालीन नेकपाले दिएको केन्द्रीय सदस्यको जिम्मेवारी छाडेर रुकुम पश्चिमको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

तीन दशकभन्दा लामो राजनीतिक अनुभव, संगठनात्मक क्षमता र सरकारी जिम्मेवारी सम्हालेका शर्मा अब प्रतिनिधिसभा सदस्यका रूपमा संघीय संसद्मा प्रवेश गर्ने भएका छन्। रुकुमको अधुरो विकास पूरा गर्ने र कम्युनिस्ट विरासत जोगाउने जिम्मेवारी अब उनको काँधमा आएको छ।

विजयपछि उनले भनेका छन्, “आफ्नो अमूल्य मतमार्फत मलाई जिम्मेवारीको नयाँ भारी बोकाउनु हुने आम रुकुमेली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार तथा धन्यवाद। म आफ्नो जिम्मेवारीप्रति इमान्दार र सक्रिय बनिरहनेछु।”