विराटनगर । मोरङ क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशा झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। हिजोसम्म गृहिणी तथा महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै आएकी ४२ वर्षीया आशाले भारी मतान्तरसहित विजय हासिल गरेकी हुन्।
झाले ३० हजार ४३४ मत प्राप्त गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र लगायत स्थापित दलका उम्मेदवारहरूलाई पराजित गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलकुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरेका छन्। आशा र फूलकुमारबीचको मतान्तर २१ हजार १९ रहेको छ।
यस क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गर्दा नेकपाका शिवकुमार मण्डल केवटले ८ हजार ६१४ मत पाएका छन्। त्यस्तै नेकपा (एमाले)का मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत प्राप्त गरेका छन् भने २०७९ सालको निर्वाचनमा विजयी भएका योगेन्द्र मण्डलले यसपटक ४ हजार १९९ मतमा सीमित भएका छन्।
भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी आशा यसअघि सक्रिय राजनीतिमा थिइनन्। समाजसेवामा सक्रिय रहेकी उनले आफूलाई राजनीति गर्ने खास इच्छा नभएको बताउँदै आएकी थिइन्। तर अधिकार माग्दा भएका दमन र अन्याय देखेपछि राजनीतिमा आउन प्रेरणा मिलेको उनले बताएकी छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा उनका श्रीमान् आमोदकुमार झाले विराटनगर महानगरपालिका वडा नम्बर–१३ को वडाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। तर उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यलाल यादवसँग पराजित भएका थिए। वडामा हार बेहोरेको तीन वर्ष नपुग्दै आमोदकी श्रीमती आशाले भने रास्वपाको ‘घण्टी’ चुनाव चिह्न लिएर सिधै सिंहदरबारको यात्रा तय गरेकी छन्।
लामो समय स्वास्थ्य स्वयंसेविकाको रूपमा समुदायमा काम गर्दै आएकी उनी विभिन्न सामाजिक अभियानमा सक्रिय रहेको रास्वपा नेता वीरेन्द्र साहले बताए।
उनको उम्मेदवारी घोषणा हुँदा रास्वपा भित्रै पनि केही असन्तुष्टिका स्वर सुनिएका थिए। रास्वपाका नेता मनिष झाले आफ्नै परिवारकी सदस्यलाई टिकट दिएको भन्दै ‘नातावाद’ को आरोप समेत लागेको थियो। तर ती आलोचना र आन्तरिक विवादलाई चिर्दै आशाले स्थापित दलका पुराना नेताहरूलाई पराजित गर्दै संसद्मा प्रवेश गरेकी हुन्।
संसद्मा पुगेपछि उनले बन्द उद्योग पुनः सञ्चालन गर्ने वातावरण बनाउने, युवाहरूलाई वैदेशिक रोजगारीमा जान बाध्य हुन नपर्ने गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गर्ने एजेन्डा अघि सारेकी छन्।
मोरङ–५ मा रास्वपाकी आशा झा विजयी, गृहिणीबाट सिधै संसद् यात्रा







