दार्चुला । दार्चुला जिल्लाका दुई मतदान केन्द्रमा स्थानीय मतदाताले निर्वाचन बहिष्कार गरेका छन्।नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर माध्यमिक विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचनमा सहभागिता जनाएनन्।
स्थानीयको बहिष्कारका कारण प्रत्यक्षतर्फको मतपेटिका रित्तै बोकेर कर्मचारीहरू सदरमुकाम खलंगातर्फ फर्किरहेका छन्। दुवै केन्द्रमा अस्थायी मतदाता (निर्वाचनमा खटिएका कर्मचारी) ले मात्र समानुपातिकतर्फ मतदान गरेका हुन्।
गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ। उक्त मतदान केन्द्रमा ६०२ जना मतदाता थिए। दुर्गम बाटोका कारण कर्मचारीहरू शुक्रबार मात्र सदरमुकाम फर्किने उनले बताए।
त्यसैगरी दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रमा समानुपातिकतर्फ ८ मत खसेको मतदान अधिकृत प्रेमराज अवस्थीले जानकारी दिए। सो केन्द्रमा ३४६ जना मतदाता रहेका थिए। प्रत्यक्षतर्फको मतपेटिका भने रित्तै सदरमुकाम लगिएको छ।
नागु क्षेत्रका स्थानीयले सडक लगायत विकास निर्माणको माग राख्दै एक महिनादेखि निर्वाचन बहिष्कारको घोषणा गरेका थिए। राजनीतिक दल, प्रशासन तथा प्रदेश सरकारका प्रतिनिधिले छलफल र अपिल गरे पनि स्थानीय आफ्नो निर्णयबाट पछि हटेनन्।
संघर्ष समितिका संयोजक करनसिंह डडालका अनुसार स्थानीयले सरकार र नेताप्रति असन्तुष्टि जनाउँदै मतदान नगर्ने निर्णय कायम राखेका हुन्।
त्यस्तै अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले पनि ‘नो भोट’ अभियान चलाउँदै मतदानमा सहभागी भएनन्। २०७४ सालमा गरिएको वडा विभाजनका कारण सेवा लिन टाढा जानुपर्ने समस्या समाधान नभएसम्म मतदान नगर्ने अडान उनीहरूले लिएका थिए।
झुस्कु, चौड, छविस र भट्टार गाउँका मतदाताले मतदान नगरेको स्थानीयले बताएका छन्।








