गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले समाजमा रहेका विकृति, विसङ्गति तथा कुरीति अन्त्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

फागुपूर्णिमाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले प्रेम, सद्भाव, आपसी एकता तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको भावना अभिवृद्धि गर्ने बताएका छन् ।

सन्देशमा असत्यमाथि सत्य, अन्यायमाथि न्याय र दुराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमामा पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रङहरूको उत्सवका रूपमा होली मनाइने उल्लेख छ ।

ADVERTISEMENT

आफन्तजन र साथीसँग अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्पराले सामाजिक एकता र सद्भावलाई मजबुत बनाउँदै आएको उनले बताएका छन् । “होलीमा प्रयोग हुने थरी–थरीका रङ जस्तै हाम्रो समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण छ । यही विविधताबीचको एकताले हाम्रो राष्ट्रिय पहिचान बलियो बनेको छ,” सन्देशमा भनिएको छ ।

ADVERTISEMENT

गण्डकी प्रदेश र नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सुन्दर रहेको उल्लेख गर्दै उनले सबै जाति, भाषा, पेसा, धर्म, समुदाय र संस्कृतिको पहिचान तथा अधिकार स्थापित गर्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ भन्ने प्रदेश सरकारको लक्ष्य साकार पार्न एकता र सहभागिता अपरिहार्य रहेको उनले उल्लेख गरेका छन् ।

ADVERTISEMENT

यसैबीच, यस वर्ष होलीको संघारमा प्रतिनिधिसभा निर्वाचन हुँदै गरेको उल्लेख गर्दै उनले निर्वाचन लोकतान्त्रिक अभ्यासलाई थप परिपक्व बनाउने महत्वपूर्ण अवसर भएको बताएका छन् । निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई लोकतन्त्रप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसर पनि भएको सन्देशमा जनाइएको छ ।

उनले सबै मतदातालाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न अपिल गर्दै एक मतले स्थिरता, विकास र समृद्धिको मार्ग तय गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।