११ फागुन,काठमाडौं ।वीरगञ्जमा लगाइएको कर्फ्यू हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको निष्कर्षसहित कर्फ्यू हटाइएको जनाइएको छ।
पर्सा प्रशासनले यसअघि पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कर्फ्यू लगाएको थियो। आइतबार राति दुई पक्षबीच विवाद उत्पन्न भएपछि वीरगञ्जको श्रीपुर क्षेत्र तनावग्रस्त बनेको थियो। सोही तनावलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको थियो।
नयाँ आदेशअनुसार साँझ ४:३० बजेदेखि भोलि बिहान २०८२ फागुन १२ गते बिहान ८ बजेसम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ।
आजै बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले श्रीपुर घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने सहमति गरेको जनाएको छ। प्रशासनले शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।









