काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेन झापा पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुकी सुर्खेतबाट जहाजमा काठमाडौं फर्किएका बालेन शुक्रबार बिहानैदेखि झापा ५ मा मतदातासँग मत माग्न हिँडेका छन् ।

बालेन अस्वस्थ भएको भनिए पनि उनलाई के भएको हो भन्ने खुलाइएको थिएन । बालेन शुक्रबारदाङको कार्यक्रममा सहभागी हुने भनिएको थियो । तर उनी झापा पुगेपछि दाङ र भैरहवाको कार्यक्रममा उपस्थित नहुने भएका छन् ।

ADVERTISEMENT

रास्वपाले शुक्रबार दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रम राखेको छ। कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछानेसँगै बालेन पनि दाङ आउने भनिएको थियो।

बालेन पहिलोपटक दाङ आउने कुरा थाहा पाएपछि उनको स्वागतका लागि मानिसहरू ठाउँ ठाउँमा जम्मा भएका थिए। तर बालेन काठमाडौं पुगेको खबर पाएपछि निराश हुँदै फर्किएका थिए। बालेनको स्वागतका लागि रातिसम्म तुलसीपुरको यो वीरेन्द्र चोकमा बसेका युवाहरू आक्रोशित बनेका थिए ।

रास्वपाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वाचापत्र सार्वजनिक गरेको थियो, जहाँ बालेन पनि सहभागी थिए।

झापा ५ पछिल्लो साता रास्वपाको पक्षमा देखिएको माहोल शिथिल बनेको खबर पाएपछि बालेन एकाएक अन्यत्रको कार्यक्रम छाडेर झापा पुगेको बताइन्छ । झापा ५ मा केही दिनयता एमाले अध्यक्ष केपी ओलीले आफ्नो पक्षमा माहोल सुदृढ बनाउँदै लगेको बुझिएको छ ।