काठमाडौँ। काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डमा साइकल लेन र फुटपाथ विस्तारको काम लगभग सम्पन्न गरेको जनाएको छ। यसअघि सडकमै हरियो रेखा कोरेर छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भन्दै आलोचना भएपछि महानगरले चौडा फुटपाथसँगै छुट्टै साइकल लेन निर्माण गरेको हो।

महानगरका अनुसार पैदलयात्री र साइकल प्रयोगकर्तालाई सुरक्षित आवागमन सुविधा दिने उद्देश्यले पूर्वाधार सुधार गरिएको हो। तर, निर्माण सम्पन्न भएसँगै साइक्लिस्टहरूले लेनको डिजाइन, प्रवेश बिन्दु (इन्ट्री प्वाइन्ट) र निरन्तरतामा समस्या रहेको भन्दै सुधारको माग गरेका छन्।

ADVERTISEMENT

नेपाल साइक्लिङ संघका सचिव देवेन्द्र बस्न्यातले साइक्लिस्टहरूको दबाबपछि मात्र व्यवस्थित लेन निर्माण प्रक्रिया अघि बढेको बताए। उनले निर्माण भए पनि व्यवहारिक प्रयोगमा कठिनाइ देखिएको उल्लेख गरे। उनका अनुसार साइकल लेनको प्रवेश बिन्दुमै समस्या छ भने कतिपय स्थानमा लेनको कनेक्सन टुटेको छ। केही खण्डमा दुर्घटनाको जोखिम देखिएको र धेरै स्थान साँघुरो भएको भन्दै थप सुधार आवश्यक रहेको उनले बताए।

ADVERTISEMENT

अर्का साइक्लिस्ट लक्ष्मण बानियाले विकसित देशहरूमा स्पष्ट रूपमा छुट्याइएका आकर्षक साइकल लेनको उदाहरण दिँदै यहाँ पैदल मार्ग र साइकल मार्गबीच स्पष्ट विभाजन नभएको बताए। उनका अनुसार ‘साइकल लेन’ भनिए पनि व्यवहारमा पैदलयात्री र साइकल प्रयोगकर्ता एउटै स्थानमा चल्नुपर्ने अवस्था देखिन्छ। डिजाइन प्रक्रियामा प्रयोगकर्ताको अनुभव र प्राविधिक परामर्शलाई पर्याप्त महत्व नदिइएको उनको तर्क छ।

तीनकुने–माइतीघर सडक खण्डको साइकल लेनलाई करिब १३ वर्षदेखि नियाल्दै आएका ‘स्टोरी साइकल’का सौरभ ढकालले पनि संरचनागत गुणस्तर र ग्रेडिङमा उल्लेखनीय सुधार नभएको टिप्पणी गरे। उनका अनुसार पहिले जस्तो अवस्था थियो, अहिले पनि धेरै हदसम्म उस्तै छ र मुख्यतः सतहमा प्रयोग गरिएको इँटा मात्र परिवर्तन गरिएको छ।

ढकालका अनुसार नयाँ फुटपाथ निर्माण सुरु भएपछि साइक्लिस्ट समूहले महानगरलाई निवेदन दिँदै साइकल लेनको पुनःडिजाइन र प्रयोगकर्ता–मैत्री संरचना बनाउन आग्रह गरेका थिए। हालको डिजाइनका कारण करिब साढे तीन किलोमिटर दूरी पार गर्न झण्डै २० पटक साइकलबाट ओर्लेर फेरि चढ्नुपर्ने अवस्था रहेको उनले बताए। यसले साइकल प्रयोग बढाउनेभन्दा घटाउने जोखिम रहेको उनको भनाइ छ।

साइक्लिस्टहरूले सरोकारवालासँग थप छलफल गरी डिजाइन सुधार, स्पष्ट लेन छुट्याउने व्यवस्था, निरन्तर कनेक्सन र सुरक्षित प्रवेश–निर्गमन बिन्दु सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन्।