काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पपुलिजमको आक्रमणबाट लोकतन्त्रलाई जोगाउनुपर्ने बताएका छन् ।

बुधबार बौद्धिक पेसाकर्मी अभियानको अन्तरक्रिया कार्यक्रममा उनले अहिले संसारका विभिन्न देशमा परिपक्क लोकतन्त्र पनि पपुलिजमको सिकार भएको भन्दै नेपाललाई पनि पपुलिजमको सिकार हुनबाट जोगाउनुपर्ने बेला आएको बताए ।

ADVERTISEMENT

थापाले आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार थेग्न सक्छौं ? भन्ने प्रश्न खडा भएको भन्दै त्यसको उत्तर खोज्नु पर्ने धारणा राखे । ‘अहिले एक से एक परिपक्क लोकतन्त्र पनि पपुलिजमको सिकार भएको छ । एउटा छाल जस्तो आएको छ । त्यो पपुलिजमको आक्रमणबाट के नेपालको लोकतन्त्र हामीले जोगाउन सक्छौं ? हाम्रो लोकतन्त्र त्यति परिपक्क पनि छैन । हाम्रो अर्थतन्त्रको आफ्नै चुनौतीहरु छन्,’ उनले भने, ‘एउटा लोकतन्त्र परिपक्व भइसकेको संस्थाहरु बनेको ठाउँमा पपुलिजम ५–६ महिनामा आउँछ, त्यो ढल्छ । संस्थाहरु बलियो नभएको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामीले थेग्न सक्छौं ? भन्ने हाम्रो अगाडि प्रश्न छ त्यसको उत्तर हामीले खोज्नु पर्छ ।’

सभापति थापाले गठवन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको भन्दै कांग्रेस एक्लै निर्वाचनमा गएर अलिकति भए पनि फोहोर सफा गर्ने प्रयास गरेको दाबी गरे ।

ADVERTISEMENT

‘लोकतन्त्रको स्पेस हाइज्याक भएको छ । हेर्दा सामान्य लाग्ने गठवन्धनको राजनीतिले चयन गर्न पाउने अधिकारलाई राजनीतिक दलले हाइज्याक गरेको थियो । कांग्रेसले १६५ मा नै कांग्रेको उम्मेदवार लड्छ जित हार जे सुकै होस् भनेर जाँदा अलिकति भएपनि फोहोर सफा गर्ने प्रयास गरेको छ,’ उनले भने ।