काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको प्रक्रियामा अघि बढेपछि कांग्रेसभित्रको कलह उत्कर्षमा पुगेको हो ।

सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय थापा–शर्माका आआफ्नै अडानले पार्टी विभाजनको सँघारमा पुगेको विश्लेषण गर्न थालिएको छ । थापा र शर्माको अगुवाइमा बिहीबार महाराजगञ्जमा बसेको बैठकले आगामी पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । थापा र शर्माले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वघोषित नियमित महाधिवेशन स्थगित भएको दाबी गरेका छन् ।

ADVERTISEMENT

महामन्त्रीद्वयको यो विज्ञप्तिसँगै कांग्रेसले शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । तर सो बैठकमा महामन्त्री थापा र शर्मा उपस्थित हुने नहुने निश्चित छैन । विशेष महाधिवेशन पक्षधरले शुक्रबार बिहान ११ बजे अनामनगरमा पत्रकार सम्मेलन बोलाएको छ ।

पार्टी विधानको धारा १७ (२) को व्यवस्थालाई टेक्दै विशेष महाधिवेशनको बाटो रोजेको यो समूहले भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिसकेको छ । यसअघि गत असोज २९ गते नै ५४ प्रतिशत सदस्यहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । केही दिनअघि मात्र महामन्त्री थापाले पनि ज्ञापनपत्र बुझेका थिए ।

ADVERTISEMENT

कांग्रेसले यसअघि पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर क्रियाशील सदस्यता नवीकरण र वितरणको काम ठप्प छ । त्यस्तै पूर्वनिर्धारित वडा र पालिका अधिवेशनहरू भएका छैनन् । जसकारण संस्थापन पक्षले महाधिवेशन सार्ने वा प्रक्रिया अघि बढाउने विषयमा मौनता साधेपछि बाध्य भएर विशेष महाधिवेशनको बाटो रोज्नुपरेको महामन्त्री पक्षको तर्क छ । संस्थापन पक्षले भने चुनावको मुखमा विशेष महाधिवेशन हुनै नसक्ने अडान लिएको छ ।

नेता शेखर कोइराला पक्षले भने विशेष महाधिवेशनले पार्टी विभाजनको खतरा निम्त्याउन सक्ने भन्दै सावधानीपूर्वक अघि बढ्न सुझाव दिएको छ ।