काठमाडौँ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी गतिविधि तीव्र बनेका छन्। आजदेखि औपचारिक प्रचारप्रसार सुरु भएसँगै काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी बढेको छ।

यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन्। प्रमुख दलका शीर्ष नेतादेखि नयाँ अनुहारसम्म प्रतिस्पर्धामा छन्।

ADVERTISEMENT

काठमाडौँ–५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा, नेपाल कम्युनिष्ट पार्टीका कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल उम्मेदवार छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट प्रदीप पौडेल १५ हजार २६९ मतसहित विजयी भएका थिए। एमालेका ईश्वर पोखरेलले १० हजार १९० मत ल्याएका थिए। रास्वपाका प्रणयशम्शेर राणा ले पाँच हजार ४७७ र राप्रपाका रामप्रसाद उप्रेती ले तीन हजार १६२ मत प्राप्त गरेका थिए।

ADVERTISEMENT

कांग्रेस उम्मेदवार पौडेलले सुशासन, आर्थिक विकास, सामाजिक न्याय, प्रविधियुक्त शिक्षा, सार्वजनिक स्वास्थ्य सेवा, पार्क तथा खुला क्षेत्रको व्यवस्थापन, खानेपानी र ढल निकासको दिगो समाधानलाई प्राथमिकतामा राखेको बताएका छन्।

एमालेका पोखरेलले शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, रोजगारी सिर्जना, अधुरा पूर्वाधार सम्पन्न गर्ने र सहरी व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएका छन्।

राप्रपाका थापाले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको मुद्दालाई प्राथमिकतामा राख्दै हाँडीगाउँ र टोखालाई सांस्कृतिक नगरका रूपमा विकास गर्ने योजना अघि सारेका छन्।

नेकपाका शर्मा भ्रष्टाचार नियन्त्रण, सुशासन र कानुनी सुधारका विषयलाई मुख्य मुद्दा बनाएका छन् भने रास्वपाका सस्मित पोखरेलले पारदर्शिता, उत्तरदायित्व र प्रत्यक्ष संवादमार्फत जनप्रतिनिधित्व प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।

यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्रलगायत अन्य दल तथा पाँच स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ देशभर ६५ दलले ६१ चुनाव चिह्नमा प्रतिस्पर्धा गर्दैछन्। प्रत्यक्ष प्रणालीमा तीन हजार ४०६ उम्मेदवार छन् भने समानुपातिकतर्फ ६३ दलका तीन हजार १३५ उम्मेदवार बन्दसूचीमा समावेश छन्।

यसपटक १ करोड ८९ लाखभन्दा बढी मतदाता कायम रहेका छन्। देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ। निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि लागू भइसकेको छ।